बृहत राष्ट्रिय खेलकुद समारोह उद्घाटन कार्यक्रममा तत्कालिन राजारानी। तस्बिर सौजन्यः श्याम चित्रकार
२०३४ सालमा जतिबेला राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सरदचन्द्र शाहको नियुक्ति भयो, त्यतिबेला नेपालमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको परिकल्पना नै भएको थिएन। यद्यपि फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र एथलेटिक्सको राष्ट्रिय प्रतियोगिता उनीहरुकै संघको अगुवाइमा वार्षिकरुपमा आयोजना हुँदै आइरहेको थियो।
यस्तो परिस्थितिमा सरदचन्द्र सदस्य सचिव भएको अर्को वर्ष नै इरानको राजधानी तेहरानमा सातौं एसियन गेम आयोजना भयो। प्रतियोगितामा एसियाका २५ राष्ट्रमध्ये नेपाल पनि सहभागी थियो। यही एउटा भव्य खेलको आयोजना कसरी सम्भव हुन्छ र यसको महत्व जान्ने मौका पाए उनले। तेहरानमा आयोजना भएको सातौं एसियन गेमको भव्यता पछि सरदचन्द्रको मनमा पनि प्रश्न उठ्यो– हामी पनि एकै ठाउँमा एसियाडजस्तै बृहत् खेलकुद किन गर्न सक्दैनौ?
इरानले तेहरानको एसियाड सफल पार्न राज्यका सबै शक्ति परिचालन गरेको थियो। यस्तोमा सरदचन्द्रका लागि सबैभन्दा कठिन कुरा भौतिक पूर्वाधार कमजोर भएको नेपालजस्तो देशमा बृहत् राष्ट्रिय खेलकुद कसरी सफल पार्ने भन्ने नै थियो।
उनका लागि पहिले त प्रतियोगिता कहाँबाट सुरु गर्ने भन्ने मै अलमल थियो। तरपनि उनले तेहरानबाट फर्किएपछि जसरी पनि राष्ट्रिय प्रतियोगिता नेपालमा गराउँछु भन्ने प्रण गरेका थिए। यसका लागि उनले तेहरान एसियाडको सुक्ष्म अध्ययन गरे। त्यहाँको अध्ययनपछि उनी एउटा निश्कर्षमा पुगेका रहेछन्– बृहत् खेलकुद प्रतियोगिता आयोजनाको लागि पाँचवटा कुरा आवश्यक पर्ने रहेछ।
पहिलो– प्रतियोगिताको समारोह। दोस्रो– कार्यक्रम र व्यवस्थापन। तेस्रो– संवाद(मिडिया)। चौथो– सुरक्षा। र पाँचौ– आर्थिक।
उनले परिषद्को नेतृत्व सम्हाल्दा नेपालमा एउटै खेलाडीले ५ वटासम्म राष्ट्रिय प्रतियोगिता खेलेको पाए। कुनै पनि खेलाडी एउटै खेलमा निपुण थिएनन्। व्यवस्थापन पक्ष त्यति चुस्त थिएन। फेरि, पाँचै खेलको राष्ट्रिय प्रतियोगिता बेग्लाबेग्लै हुने भएका कारण आम नेपालीको ध्यान खेलतर्फ तानिएको थिएन। त्यतिबेला बक्सिङ, क्रिकेट, पौडी र टेनिसलाई सहरियाको खेल मानिन्थ्यो। यी खेल प्रायः सहरभित्र हुन्थ्यो।
२०३८ सालमा पहिलो पल्ट आयोजना भएको बृहत राष्ट्रिय खेलकुद काठमाडौंमा हुनुको कारण पनि छ। त्यतिबेला राष्ट्रिय प्रतियोगिताका लागि समावेश भएका सबै खेलको पूर्वाधार काठमाडौंमा मात्र थियो। प्रतियोगिता आयोजना गर्न परिषद्ले ३ वर्षअघि नै गृहकार्य सुरु गरिसकेको थियो। पहिलो बृहत् राष्ट्रिय खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, एथलेटिक्स, क्रिकेट, बक्सिङ, पौडी, बागचाल, बुद्धिचाल, कबडी, जिम्न्याष्टिक, तारो हान्ने(आर्चरी), भारोत्तोलन, ह्याण्डबल र शारिरीक सुगठन गरी १६ वटा खेल समावेश गरिएको थियो।
त्यतिबेला आयोजनाको लागि सबैभन्दा ठूलो समस्या आवासको थियो। काठमाडौंमा त्यतिबेला अहिलेजस्तो होटल र लज खुलेका थिएनन्। प्रतियोगितामा भाग लिन १४ अञ्चलका करिब १४ सय खेलाडी आएका थिए। उनीहरुलाई विभिन्न शिवालय तथा सरकारी गेस्ट हाउसमा राखियो। पहिलो राष्ट्रिय प्रतियोगिताका लागि तत्कालिन सरकारले १४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो। यही पैसामा पहिलो राष्ट्रिय खेलकुदको भव्य आयोजना भएको थियो।
पहिलो बृहत् राष्ट्रिय प्रतियोगिता आयोजनापूर्व नेपालले २०३७ सालमा मस्को ओलम्पिकमा भाग लिएको थियो। त्यतिबेला अमेरिकालगायत थुप्रै राष्ट्रले अफगानिस्तानमाथि सोभियत संघको आक्रमणको विरोध जनाउँदै मस्को ओलम्पिक बहिस्कार गरे। नेपाललाई पनि विरोधस्वरुप नखेल्न सुझाव दिइएको थियो।
बृहत राष्ट्रिय खेलकुद समारोह उद्घाटनको दृश्यः तस्बिर सौजन्यः श्याम चित्रकार
तर, त्यतिबेला सरदचन्द्रको अडान थियो, खेललाई विशुद्ध खेलको रुपमा लिनुपर्छ। यसमा राजनीति घुसाउनु हुँदैन। उनकै अडानका कारण अन्ततः नेपाल मस्को ओलम्पिकमा सहभागी भएको थियो। चार वर्षपछि अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुँदा पनि सोभियत संघलगायत उसका समर्थक राष्ट्रले नखेल्ने निर्णय गरे। यतिबेला पनि नेपाललाई लस एन्जलसमा नखेल्न सुझाव आएको थियो, तर त्यसबेला पनि सरदचन्द्र पुरानै अडानमा कायम रहे।
मस्को ओलम्पिक पहिलो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा भएको कारण नेपालका लागि महत्वपूर्ण थियो। यसको प्रत्यक्ष निरिक्षणबाट थुप्रै कुरा प्रयोग गर्ने मौका पायो। प्रतियोगिता पूर्व नै नेपाली खेलाडीलाई प्रशिक्षण दिन विदेशबाट प्रशिक्षक झिकाइएको थियो। त्यति मात्र होइन, खेलको निष्पक्षतामा कसैले औंला नउठाओस् भनेर केही खेलका रेफ्री तथा जज पनि विदेशबाटै मगाइएको थियो।
२०३८ सालको पहिलो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन मात्र होइन समापन पनि तत्कालिन राजा वीरेन्द्रले गरेका थिए। उद्घाटन सत्रमा स्कुले विद्यार्थीको मास पेटीपछि काठमाडौंको दशरथ रंगशालामा जम्मा भएका चौधै अञ्चलका खेलाडीको मार्च पास वास्तवमै नेपाली खेलकुदका लागि अविस्मरणीय थियो। त्यसअघिसम्म यत्रो संख्यामा नेपाली खेलाडी एउटै ठाउँमा एकत्रित भएका थिएनन्।
अझै समापनका बेला आकाशमा पड्किएको आतिशबाजी सम्झनलायक थियो। त्यतिबेला मैदानमा भएका सबै खेलाडी चिच्याइरहेका थिए। मानौं, उनीहरु पहिलो बृहत् राष्ट्रिय खेलकुदको सफलतामा तृप्त देखिन्थे।