सभामुख ओनसरी घर्तीले पुस ७ गतेभित्र राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेकी छन्। सभामुख घर्तीले सोमबार प्रमुख तीन दलका शीर्ष नेतृत्वसँग भेट गरेलगत्तै अब केही दिनभित्रै राजनीतिक गतिरोध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएकी छन्।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले स्थानीय तहको निर्वाचनमा जानेगरी मुलुकलाई निकास दिन प्रमुख तीन दल तयार रहेकोमा आफू आशावादी रहेको पनि बताईन्। उनले मुलुकलाई निकास दिन दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि दोहो¥याईन्। सभामुख घर्तीले दलहरुलाई सहमतिमा पुग्नकै लागि संसद बैठक सात गतेसम्म स्थगित गर्नु परेको पनि स्पष्ट पारिन्।
सभामुख घर्तीले संसदमा चारवटा विषयले प्रवेश पाएको पनि जानकारी गराईन्। निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव, स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक, निर्वाचन कसुुर तथा सजाय सम्बन्धि व्यवस्था गर्नको बनेको विधेयक र संविधानको दोस्रो संशोधन गर्न बनेको विधेयक संसदको कार्य सूचीमा राखिएको बताएकी हुन्।
संसद सचिवालयले सार्वजनिक लेखा समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउन पनि दलहरुलाई आग्रह गरेको छ। सभापति चयनका लागि निर्वाचनको कार्यसूची बनाउन पनि प्रमुख तीन दललाई आग्रह गरिएको सभामुख घर्तीले बताईन्। समितिका तत्कालीन सभापति जनार्दन शर्मा उर्जामन्त्री भएपछि खाली रहेको पदमा निर्वाचन गर्नुपर्ने भएकाले सो सम्बन्धमा दलीय सहमति आवश्यक रहेको संसद सचिवालयले जनाएको छ।
त्यसैगरी संसद सचिवालयले महाअभियोग सिफारिस समितिको सभापति चयन प्रक्रियालाई पनि अघि बढाउने तयारी गरेको छ। संसदमा आधा दर्जन बढी संसदीय समितिहरुलाई पूर्णता दिनुपर्ने अवस्था रहेको संसद सचिवालयले जनाएको छ।