संसदको गतिरोध हटाउन सभामुख ओनसरी घर्तीमगरसँग तीन दलका शीर्ष नेतासँग गरेको छलफल विना निष्कर्ष टुंगिएको छ।
संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सभामुखले संविधान संशोधनको विषयमा समर्थन गर्न गरेको आग्रह आफूहरूले अस्वीकार गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले भने।
‘सभामुखले प्रस्तावमा समर्थन गर्न भन्नु भयो, हामी कुनै पनि हालतमा प्रस्तावमा समर्थन गर्दैनौ,’ उनले भने,‘ प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरोध कायमै रहन्छ।’
सरकारले निर्वाचन कानुन र संशोधन एकै पटक ल्याएमा त्यो आफूहरूलाई मान्य नहुने एमाले नेताहरूले जानकारी दिएका छन्।
‘सरकारले निर्वाचन कानुन ल्याएमा हामी संसद चल्न दिन्छौ, उनले भने,‘ तर संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ।’
निर्वाचन कानुन संविधान संशोधन लगायतका विषयमा प्याकेजमा सहमति खोज्ने विषयमा सहमति भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए। ‘निर्वाचन कानुन, संविधान संशोधनलगायतको विषयमा प्याकेजमा सहमति खोज्न छलफल जारी राख्ने निर्णय भएको छ,’ उनले भने।
यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले निर्वाचन कानुन र संशोधन कार्यसूचीमा रहने बताए।
‘एमालेले संशोधन फिर्ता लिन आग्रह गर्यो, हामीले सरकारले दर्ता गरेको प्रस्ताव फिर्ता लिन्न भन्यौ,’ बैठकबाट बाहिरिएका महराले भने।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी छन्। बैठकमा घर्तीले तीनै दलका नेतालाई सहमति र सहकार्य गरेर अगाडि बढ्न आग्रह गरेकी छन्।
गत मंसिर १४ गते संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव आज जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी रहेको छ भने त्यसलाई जसरी पनि रोक्ने प्रमुख प्रतिपक्षी एमालेले बताउँदै आएको छ ।