लगातारको बन्दले मजदुरी गरेर खाने निम्न वर्ग मारमा परेका छन् । दिनभरि काम गरेर बिहान बेलुकीको छाक टार्ने वर्ग बन्दका कारण अझ बढी मारमा परेका हुन् । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विरुद्धमा पुस १ गतेबाट ३ गतेसम्म बाँकेसहित प्रदेश नम्बर ५ का जिल्लामा गरेको लामो बन्दले आफूहरुलाई छाँक टार्न धौँधौँ परेको कोहलपुर–३ लोक नगरका रिक्सा चालक रामबहादुर थारुले गुनासो गरे ।
“बन्दमा सवारी पाउन गाह्रो हुन्छ, पाइहाले पनि बन्दकर्ताले रिक्साको हावा फुस्काइदिन्छन्” थारुले भने, “जसले जुन कुराको माग गरेर बन्द गरे पनि मारमा पर्ने हामी नै हो ।” “थारु मात्रै होइन, बन्दको सकसबाट कोहलपुर बसपार्कमा मम्फली बेचेर आफ्ना चार छोराछोरी पाल्दै आएकी कोहलपुर–३ कै लालकली विक पनि अछुतो छैनन्। “मम्फली नबेचौं छाक कसरी टार्ने ? बेचौँ किन्ने मान्छे छैनन् ।” विकले भनिन्, “बन्दले गर्दा पाँच किलो मम्फली पनि बिक्री गर्न सकेको छैन ।”
लगातारको बन्दले घोडालाई खाने दाना पनि किन्न नसकेको नेपालगन्ज उपमहानगरपालिका–१६ बेलासपुरका टाँगा चालक बन्नु चिडिमारको भनाइ छ । “बन्दले ठूलाठूला पदमा बसेकालाइ केही असर गर्दैन, असर हामी जस्ता गरिबलाई गर्छ ।”
उनी भन्छन्, “बेलुका छोराछोरीलाइ के खुवाउने पिरलोले सताइरहेको छ ।” आफ्ना माग पूरा गर्ने नाममा हामी जनतालाई दुःख दिने काम हुन्छ, बर्दिया सानोश्री घर भई नेपालगन्जमा ज्यालादारी काम गर्ने दिनेशकुमार चौधरीले भने, लोकतन्त्र आएपछि केही सहज होला भन्यो झन विभिन्न थरीको बन्दले हामीलाई नै बाच्न गाह्रो बनाएको छ । लगातारको बन्दले भारतबाट मजदुरी गरेर घर फर्कने नेपालीलाई पनि असर गरिरहेको छ । भारतको अलमोडाबाट मजदुरी गरेर आफ्नो बाबुको किरिया गर्न दैलेख जान लागेका झुसे नेपालीले भएको रकम पनि नेपालगन्ज होटलमै बसेर सकिन लागेको बताए ।
यसरी लगातारको बन्दका कारण गरी खाने वर्ग मारमा परेका छन् । बन्द गर्दौनौं भनेर आफ्ना पार्टीका घोषणापत्रमा प्रतिबद्ध जाहेर गर्ने दलले नै निरन्तर बन्द गर्दा राजनीतिक दलप्रति सर्वसाधारण जनता रुष्ट देखिन्छन् ।
लगातारको बन्दका कारण बाँकेमा लामो तथा छोटो दूरीका सवारीसाधन मात्रै नभई मुख्यमुख्य चोकमा मोटरसाइकल, रिक्सा समेत चल्न नदिँदा सर्वसाधारणले अझ बढी सास्ती झेलिरहेका छन् । रासस