पूर्वाञ्चलमा पहिलो पल्ट आयोजना हुन लागेको सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट हुने भएको छ। तर, आकस्मिक विदेश भ्रमणका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटनमा आउन नसक्ने विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
सातौं बृहत राष्ट्रिय पुस ८ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन विराटनगरस्थित सहिद रंगशालामा हुनेछ। उद्घाटनका लागि सोही दिन राष्ट्रपति भण्डारी विराटनगर आउने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले जानकारी दिए।
पहिले बृहत राष्ट्रिय प्रतियोगिताको उद्घाटन राजाहरूबाट गर्ने चलन थियो। २०६५ सालमा राजसंस्थाको अन्त्य पछि राष्ट्रपतिले राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै आइरहेका छन्। पाँच वर्षअघि धनगढीमा छैटौं बृहत राष्ट्रिय खेलकुदको आयोजना हुँदा पूर्व राष्ट्रपति रामवरण यादवले उद्घाटन गरेका थिए।
‘राष्ट्रपति र उपराष्ट्रपतिलाई हामीले निम्तो पठाइसकेका छौं। राष्ट्रपतिबाट उद्घाटन हुनेछ,’ सदस्य–सचिव बिष्टले भने–‘तर, प्रधानमन्त्रीको विदेश भ्रमण परेको हुनाले उहाँ अनुपस्थित हुनु हुनेछ।’
समापनमा भने प्रधानमन्त्री दाहालको हातबाट हुनेछ। राष्ट्रिय प्रतियोगिताको समापन १५ गते धरानको एन्फा कम्प्लेक्समा हुँदैछ। राष्ट्रिय प्रतियोगितामा ३५ मध्ये ३० खेलको आयोजना हुँदैछ।