सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक भोलि बस्ने संसदको कार्यसूचीमा राखिने भएको छ। सोमबार बोलाइएको संसदको बैठकमा विधेयकलाई कार्यसूचीमा राख्ने सभामुख ओनशरी घर्तीको तयारी रहेको छ।
संसदमा दर्ता भएको विधेयकलाई सोमबार बस्ने संसदको कार्यासूचीमा राखिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सेतोपाटीलाई बताए। संविधान संशोधनको बिषयमा छलफल गर्न सभामुख घर्तीले प्रमुख तीन दलका प्रमुख र प्रमुख सचेतकहरुको बैठक बैठक बस्नुअघि ११ बजे बोलाएकी छन्।
संसदको अबरोध हटाएर संसदमा रोकिएका विधेयक र अन्य विधेयकहरुलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न सभामुखले बैठक बोलाएको सभामुखका प्रेस संयोजक बाशुदेब शर्मा (बबिन) ले सेतोपाटीलाई बताए।
शुक्रबार बोलाइएको बैठकमा पनि संविधान संशोधन विधेयकलाई कार्यसूचीमा राख्ने/नराख्ने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गरेकी थिइन्। दलहरूबीच सहमतिको वातावरण बनाउन भन्दै सभामुखले सूचना टासेर संसदको बैठक स्थगित गर्ने निर्णय गरेकी थिइन्।
सरकारले आन्दोलनरत् मधेशी मोर्चालाई संशोधन विधेयक अघि बढाउने आश्वासन दिइसकेकोले अब यो विधेयक संसदको कार्यसूचीमा पर्ने निश्चित प्राय भइसकेको छ।
यस्तो छ एमालेको तयारी
सोमबार १ बजेसम्म कुनै परिवर्तन नभए एमालेले संसद बैठक अबरोध गर्ने आफ्नो निर्णय यथावत रहने एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सेतोपाटीलाई बताए। ‘संशोधन विधेयक पास गर्नका लागि सरकारसँग आवश्यक संख्या पुग्दैन भन्ने स्पष्ट भइसकेको छ,’ ढकालले भने, ‘संसदको गणितलाई बेवास्ता गर्दे सरकार बलपूर्वक अघि बढेमा हामी त्यसको प्रतिवाद गर्छौ।’
यसैबीच एमालेले बिहान ९ बजे संशोधनको बिपक्षमा रहेका ८ दलको बैठक बोलाएको छ। संशोधनको बिपक्षमा नेकपा एमालेसहित नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, जनमुक्ती पार्टी, नेपाल परिवार दल, नेपा पार्टी र मधेश समता पार्टीलाई बैठकमा बोलाएको हो।
सभामुखसँग ११ बजे हुने छलफलपछि एमालेले १२ बजे संसदीय दलको बैठक समेत बोलाएको छ। संसदीय दलको बैठकबाट एमालेले आफ्नो रणनीति तय गर्ने ढकालले बताए।