आर्थिक रूपमा विपन्न नेपाली युवतीहरुलाई बैदेशिक रोजगारमा आकर्षक तलब भत्ताको प्रलोभनमा पारी ओमानमा लैजाने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा नवलपरासी दुम्बीबास–३ घर भई काठमाडौँ बसुन्धारा बस्ने ३५ बर्षीय राज कुमार खरेल, ताप्लेजुङ फुलवारी–७ घर भई मोरङ बिराटचोक ईन्द्रपुर–४ बस्ने ४६ बर्षीय पुरन सुब्बा भन्ने पूर्ण बहादुर लिम्बु र रुपन्देही देवदह–२ बस्ने ४१ बर्षीय हरि प्रसाद थारु रहेका छन् ।
कुवेत पठाई काम दिलाउने भनि नेपालको सुनौली (बेलहिया नाकाबाट भारतको नयाँ दिल्ली, श्रीलंका हुँदै कुवेत तथा दुवईबाट ओमानसम्म पठाउने कार्यमा उनीहरु सम्लग्न रहेको प्रहरीले जनाएको छ,।
ति स्थानमा युवतीहरूको शारीरिक तथा मानसिक यातना, यौन हिंसा समेत गर्ने गराउने उद्देश्यले मानव बेचबिखन तथा ओसारपसारका निम्ति अवैध तरिकाले विदेश पठाउने गिरोहका तीनजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरीले मानब बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।