प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चाले संविधान संशोधन प्रस्तावको समर्थन गरेको खुलासा गरेका छन्।
प्रधानमन्त्री दाहालले मोर्चाले संशोधन प्रस्तावको समर्थन गरेको भन्दै अब आशंका गर्न नहुने धारणा पनि राखेका हुन्। मधेशी मोर्चाका नेताहरुले शनिबार बेलुका प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। सोही भेटको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुले संशोधन प्रस्तावको पक्षमा उभिने बचन दिएको बताए।
यसअघि मोर्चाका नेताहरुले यथास्थितिमा संविधान संशोधन प्रस्तावको पक्षमा उभिन नसकिने अडान राख्दै आएका थिए । विराटनगरका स्थानीय संचारकर्मीमाझ प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावलाई विधिसम्मत ढंगले टुंगोमा पुर्याउन विपक्ष एमालेसहितका दलहरु पनि सहमतिमा आउनै पर्ने जिकीर गरेका हुन्।
प्रधानमन्त्री दाहालले पहिले स्थानीय तहको निर्वाचन हुने पनि बताएका छन्। स्थानीय तह त्यसपछि प्रदेश सभा र अन्तमा संघीय संसदको निर्वाचन हुने बताएका हुन्। संघीय संसदको निर्वाचन पहिले हुनुपर्ने विपक्ष एमाले भित्र बहस सुरु भइरहेका बेला प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन सरकारको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले संघीय संसदको निर्वाचन पहिला हुनुपर्छ भन्नु संविधानको मर्म विपरित हुने तर्क पनि गरेका छन्।
प्रधानमन्त्री दाहालले सबै दललाई एक ठाउँमा ल्याई निर्वाचन गराउन प्रयास भइरहेको जानकारी पनि दिए।