मानव सेवा आश्रमको वीरगन्ज शाखाका भवन निर्माणका लागि वीरगन्जमा महजात्रा कार्यक्रमको आयोजना गरिने भएको छ।
चर्चित हास्यव्यङ्ग कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहितको टोलीले पुस १० गते वीरगन्जको आदर्शनगरमा रहेको नगरसभा गृहमा प्रस्तुति देखाउने भएका छन् । मानवसेवा अश्रम वीरगन्जको भवन निर्माणका लागि आयोजना गर्न लागिएको महजात्रा २०७३ मूल आयोजक समितिले वीरगन्ज पब्लिक कलेजमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
महजात्रा २०७३ का संयोजक प्रा.डा.दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक समितिका महासचिव एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले वीरगन्ज आर्थिक कारोबार, पर्यटकीयक्षेत्र र औद्योगिक क्षेत्र मात्र नभएर मानवीय सेवामा पनि समर्पित रहेको सन्देश दिनलाई कार्यक्रम हुने बताए ।
उनले यसको लागि वीरगन्जमा स्थापना भएको मानवीय सेवामा समर्पित संस्था ,मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजना हुन लागेको महजात्रा कार्यक्रमलाई सबैले मिलेर सफल बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमको बारेमा जानकारी गराउँदै महजात्रा मूल आयोजक समितिका संयोजक प्रा.डा.दिपक शाक्यले पुस १० गते हुन गईरहेको कार्यक्रमको लागि आइतवार देखि घरदैलो कार्यक्रम गर्ने र सबैलाई यस अभियानमा संलग्न हुन आह्वान गर्ने बताएका थिए ।
चार वर्षअघि हेटौंडामा मुख्य कार्यालय स्थापना गरेर सेवा थालेको मानवसेवा आश्रमले अहिले काठमाडौं, चितवन, ललितपुर, लमजुङ, गोरखा र वीरगन्जमा पनि शाखा स्थापना गरि सेवा संचालन गरिएको छ । वीरगन्जमा संचालित आश्रमको लागि भवन आवश्यक भएकोले भवन निर्माणको लागि महजात्रा कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।