प्रधानन्यायाधीश सुशीला कार्कीले सबैलाई समान न्याय दिनुपर्नेमा जोड दिएकी छन्। उनले न्याय पहुँचका आधारमा होइन, प्रमाणका आधारमा हुनुपर्ने बताइन्।
पोखरा उच्च अदालत बार एशोसिएसन र जिल्ला बारद्वारा शुक्रबार आयोजना गरिएको स्वागत एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले अदालतको लागि योग्य र सक्षम न्यायाधीश नियुक्ती गर्न आफूले पहल गरिरहेको पनि बताइन्।
न्याय परिषद्का अध्यक्ष समेत रहेकी कार्कीले भनिन्, ‘आफ्नो मान्छे कोही नभएको तर सबै तपाईहरु नै मेरो मान्छे हो। मैले अदालतलाई भार नपर्ने योग्य र सक्षम नियुक्ती गर्नेछु।’
जनतालाई छिटो छरितो र सर्वसुलभ न्याय दिन आफ्नो पहल भैरहेको भन्दै कार्कीले अदालतमा १ घण्टाभित्र सेवा दिनुपर्छ भन्ने भावनालाई कानुन व्यवसायीबाट नै विरोध भएको टिप्पणी गरिन्।
नेपालको न्यायपालिकामा राजनीतिक हस्तक्षेप हुने भएकोले राजनीतिक तहबाट स्पष्ट भिजन अभावले न्यायपालिकालाई अप्ठ्यारो परेको भन्दै उनले भनिन्, ‘यस्तो प्रवृत्ति तपाई हामीले चिरेर जानुपर्छ।’ उनले बार र बेञ्च परिपूरक भएको बताइन्।
उनले अदालतभित्र भ्रष्टाचार चल्छ भन्ने कानुन व्यवसायी नै टेबुल मुनिबाट काम गर्ने गरेको टिप्पणी गरिन्।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले न्याय दिएको अनुभूति हुनुपर्छ भन्दै जनता केन्द्रित न्यायका लागि बार र बेञ्च एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण थापाले शम्भु थापा र कनकमणि दीक्षितको जस्तो न्याय नेपालका आमनागरिकलाई हुनुपर्नेमा जोड दिइन्।
पोखरा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष दयाराम गौतमले कानुन व्यवसायीका समस्या अदालतले सम्बोधन गर्नुपर्ने बताउँदै न्यायाधीश नियुक्ती र वरिष्ठ अधिवक्ताको वर्गीकरणमा पोखराको पनि उचित प्रनिधितित्व हुनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा जिल्ला वारका अध्यक्ष सोमबहादुर श्रेष्ठ, पोखरा उच्च अदालत बार एशोसिएसनका सचिव शिवराज वाग्लेले पनि बोलेका थिए।
उता, प्रधानन्यायाधीश कार्कीले उच्च अदालत पोखराका कर्मचारीलाई निर्देशन दिँदै जनताको काम छिटो छरितो र मित्रभावबाट दिनुपर्ने बताइन्। कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी, सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेलले पनि बोलेका थिए।