पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकका विरुद्धमा गरिएको तीनदिने बाँके बन्द १५ घन्टाका लागि खुला गरिएको छ ।
संयुक्त सङ्घर्ष समितिको आह्वानमा बाँकेसहित प्रदेश नं ५ का १२ जिल्लामध्ये दाङबाहेक ११ जिल्ला बन्दको घोषणा गरेको सङ्घर्ष समितिले रोकिरहेका यात्रु र सवारीसाधनलाई ध्यानमा राखी आज साँझ ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि बन्द खुला गरेको नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए।
बन्दका कारण आज बिहानैदेखि कोहलपुरमा रोकिइरहेका पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने सवारीसाधन बन्द खुलेपछि गन्तव्यतर्फ लागेको मध्य पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ । पटक पटक विभिन्न खालका साङ्केतिक विरोध गर्दा पनि सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएको तथा प्रदेश नं ५ लाई टुक्र्याउन खोजेकोे भन्दै बन्द आह्वान गरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
आज दिनभर भएको बन्दका क्रममा सडक विभागको भे १ ब ५६३ नंको सरकारी मोटर साइकल र एक निजी कारमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रासस