तेह्रथुम जिल्लाको आठराईस्थित सक्रान्ति बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ।
बिहान करिब साढे ११ बजेबाट सुरू भएको आगलागीका कारण सक्रान्ति बजारका २९ घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेका अनुसार आगलागी दिउँसो अढाई बजेबाट नियन्त्रणमा आएको छ। पाँचथरबाट आएको दमकल, स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले आगो निभाएको हो।
आगो निभाउने क्रममा तीन वटा घर भत्काइएको न्यौपानेले बताइन्। उनका अनुसार म्याङलुङ सदरमुकामबाट ६८ किलोमिटर टाढा रहेको सक्रान्ति बजारमा लागेको आगो निभाउन तेह्रथुममा दमकल नभएकाले पाँचथरबाट झिकाउनुपर्यो।
स्थानीय अग्नि सेढाईंको घरबाट ग्यास लिक भई सुरू भएको आगो केहीबेरमै फैलिएको थियो। पूर्वी पहाडी जिल्ला ताप्जेजुङसँग जोडिएको सक्रान्ति बजार सो क्षेत्रको मुख्य केन्द्र हो। पाँचथर जिल्लाबाट पनि नजिक पर्ने यहाँ करिब दुई सय घर र पसल छन्।
आगलागीपछि बसेको जिल्ला दैवी प्रकोप उद्दार समिति बैठकले आगलागीपीडितलाई तत्कालका लागि ५५ पोका सुक्खा खानेकुरा वितरण गर्ने निर्णय गरेको छ। जिल्लाका सबै सरकारी कार्यालयबाट जनही दुई हजारका दरले सहयोग रकम संकलन गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।