भारतलाई जीतका लागि १ सय ७३ रनको लक्ष्य दिएको नेपाल युथ–१९ एसिया कपको दोस्रो खेलमा ६ विकेटले पराजित भएको छ।
श्रीलंकासँग विहिबार मात्र १ रनले पराजित भएको नेपाल उच्च मनोवलका साथ श्रीलंकास्थित राजधानी कोलम्बोको क्रिकेट मैदानमा उत्रिएको थियो।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालको सुरुवात राम्रो हुन सकेन्। नेपालविरूद्ध ५ विकेट लिएका राहुल चाहारले नेपाल ब्याट्सम्यानलाई पुरै दबाबमा राखे।
तर, तल्लो क्रममा रोहितकुमार पौडेलले अविजित ६८ रनको अर्धसतकीय इनिङ खेलेपछि नेपालले पुरै पचास ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ७२ रन बनायो।
प्रत्युत्तरमा भारतले ३३ दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै विजय हात पार्यो। वर्तमान टेस्ट वरियताको पहिलो नम्बरमा रहेको भारतको युवा टोलीसँग नेपाली युवा खेलाडीले १ सय ५ बल खेल्न बाँकी रहँदा पराजय स्विकारेको हो। तर, नेपाललाई हराउन भारतले अहिलेसम्मकै सबैभन्दा बढि ओभर खेल्नु पर्यो।
नेपाली युवा ब्याट्सम्यानले पहिलो पल्ट भारतसँग पुरै पचास ओभर खेले। यही खेलमा भारतविरूद्ध नेपालले सर्वाधिक योगफलको लक्ष्य बनायो। यसअघि भारतसँग नेपाली टोलीको चारवटा भिड्न्त भएको थियो। जसमा १० महिनाअघि बंगलादेशको ढाकामा भएको युवा विश्वकपमा नेपालले भारतसामू सर्वाधिक १ सय ६९ रनको लक्ष्य पस्किएको थियो।
नेपालका लागि शुक्रबार रोहितसँगै दीपेन्द्रसिंह ऐरी(३४) र आशिफ शेख(१८) ले राम्रो व्याटिङ गरे। नेपालका प्रारम्भिक ब्याट्सम्यान आशिफले सन्दीप सुनारसँग मिलेर पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए।
तर, लगत्तै चाहारको बलमा नेपाले २ रन जोड्ने क्रममा ४ ब्याट्सम्यान गुमायो। नवौं विकेटका लागि रोहितले नन्दन यादवसँग मिलेर अविजित ४३ रनको साझेदारी नगरेको भए नेपालको योगफल डेढ सयभन्दा माथि उक्लिने सम्भावना न्युन थियो।
श्रीलंकाविरूद्ध ९० रन बनाएका दीपेन्द्र भारतसँग १६ रनले अर्को अर्धसतकबाट चुके। उनलाई यश ठाकुरले बोल्ड गरे।
२४ दशमलव ४ ओभरपछि क्रिजमा प्रवेश गरेका रोहितले २ छक्का र ७ चौकाको सहयोगले बिस्फोटक ब्याटिङ गरे। उनले नेपालीमुलका भारतीय बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै ६ बलमा २४ रन बनाए।
लक्ष्य पछ्याउन आएको भारतविरूद्ध कप्तान सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको दोस्रो बलमै विकेट लिएपछि नेपाली खेमामा उत्साह थपिएको थियो। तर, त्यसपछि हिमान्सु राना (५१) र शुबमान गिल (५७) ले दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गरेपछि नेपालको सम्भावना कमजोर बन्यो। यी दुवै ब्याट्सम्यानलाई पवन सरार्फले आउट गरेपनि प्रियम गर्गले अविजित ३६ रन बनाएपछि नेपाल पराजित भयो। पवनले ३ विकेट लिए।
भारतको विकेट झार्न नेपालले ८ वटा बलर प्रयोग गरेको थियो। भारतले लक्ष्य पछ्याउने क्रममा नेपालविरूद्ध लामो ओभर पनि खेलेको हो। यसअघि सन् २००० को विश्वकपमा नेपालले बनाएको १ सय १ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ८ विकेटको जीत सम्भव पार्न २५ दशमलव २ ओभर खर्चिनु परेको थियो।
युथ–१९ एसिया कपमा भारतसँग पराजय भोगेपछि नेपालको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना समाप्त भएको छ। नेपालले समूह चरणको तेस्रो खेल मलेसियासँग आइतबार खेल्नेछ।