संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले अङ्गीकृत नागरिकलाई राष्ट्रपति बनाउने मधेसी मोर्चाको माग नभएको बताएका छन्।
पार्टीको ‘राष्ट्रिय प्रशिक्षण कार्यक्रम’ को आज यहाँ उद्घाटन गर्दै भण्डारीले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनलाई ओझेलमा पार्न नागरिकतालगायत विषयमा बखेडा झिकिएको आरोप लगाए।
“संविधान संशोधन नभई स्थानीय निर्वाचनको कुरा गर्नु संशोधनलाई ओझेलमा पार्ने षड्यन्त्र हो, यदि स्थानीय निकायको निर्वाचन गर्ने हो भने निर्दलीय आधारमा हुनुपर्छ” – अध्यक्ष भण्डारीले भने।
उनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन मोर्चा सहमत रहेको र त्यसका लागि प्रमुख प्रतिपक्षीसहितका सबै दलको छलफल र सहमति अपरिहार्य भएको उल्लेख गरे।
फरक प्रसङ्गमा अध्यक्ष भण्डारीले पहिले आफैंले सहमति गरेको विषयलाई अहिले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न नेकपा एमालेले राष्ट्रियताको बखेडा झिकेर सामाजिक विभाजन र विखण्डन गर्ने प्रयास गरेकाले त्यसप्रति आफ्नो पार्टी सचेत रहेको बताए।
दुईदिने प्रशिक्षणमा राजनीतिक विश्लेषक एवम् प्राध्यापक कृष्ण हाछेथु, सिके लाल, दीपेन्द्र झालगायतले प्रशिक्षण दिने पार्टीका महासचिव केशव झाले जानकारी दिए । रासस