पाटन–पञ्चेश्वर सडकलाई कालोपत्र गर्ने कार्य सुरु भएको छ । बैतडीको पाटन बजारबाट २०४३ सालदेखि निर्माण कार्य सुरु भएको सडकको ४७ किलोमिटरसम्मको ट्र्याक खोलिएको छ भने चालु आर्थिक वर्षदेखि कालोपत्र गर्ने कार्य सुरु भएको छ ।
सडकको चार किलोमिटरसम्मको भाग कालोपत्र गरिसकिएको डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर आसिक रिजालले बताए। “६४ किलोमिटर लम्बाइ रहेको सडकको १२ किलोमिटर थप ट्र्याक खोल्ने कार्य चालु आवमा हुने र १३ किलोमिटर कालोपत्र गर्नका लागि ठेक्का भइसकेको छ”, उनले भने, “पञ्चेश्वर गाविससम्म पु¥याउन असारपछि चार किलोमिटर ट्र्याक खोल्न बाँकी रहनेछ ।”
करिब तीन दशकअघिदेखि निर्माण कार्य थालनी भएको सडकमा दुई वर्षदेखि मात्रै केन्द्रले बजेट छुट्याएर काम भइरहेकोे उनले बताए। तल्लोसोराड क्षेत्रका १३ गाविसका नागरिकलाई सदरमुकामसँग जोड्ने मार्गका रुपमा रहेको पाटन–पञ्चेश्वर सडक कालोपत्र हुन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
पाटन पञ्चेश्वर सडकलाई कालोपत्र गर्न अहिले सडक फराकिलो गर्ने काम भइरहेको छ । पाटनदेखि स्याडीगाडसम्म अढाइ वर्षमा कालोपत्र गरिसक्ने लक्ष्यअनुसार काम भइरहेको इन्जिनियर रिजालले बताए । रासस