सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनमा आईपर्ने जस्तोसुकै जिम्मेवारी पुरा गर्न व्यवस्थापिका संसद प्रतिवद्ध रहेका जनाएकी छन्। व्यवस्थापिका संसद सेवा दिवसको अवसरमा बिहीबार सिहंदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे सभामुख घर्तीले संविधानको सफल कार्यान्वयनका लागि जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको बताएकी हुन्।
संविधान गतिशिल दस्तावेज भएको भन्दै उनले त्यसलाई सर्वस्वीकार्य बनाउदै सफल कार्यान्वयनका लागि राजनीतिक शक्तिहरु मिल्नुपर्नेमा जोड दिइन्। संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको आन्दोलनमा संगै रहेका राजनीतिक शक्तिहरु आपसमा मिलेरै विद्यमान समस्याको समाधान खोज्नेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरिन्। सभामुख घर्तीले संविधानको प्रभावकारी र समयवद्ध कार्यान्वयनका लागि पनि दलहरुको ध्यानाकर्षण गराइन्।
सरकारलाई जनताप्रति उत्तरदायी र संसदलाई प्रभावकारी बनाउन प्रत्यक्ष प्रश्नउत्तर सुरु गर्ने काम अन्तिम चरणमा पुगेको पनि सभामुख घर्तीले जानकारी दिइन्। व्यवस्थापिका संसदका हरेक कामलाई मितव्ययी, व्यवस्थित र पारदर्शी बनाउन आफुले प्रयत्न गरिरहेको भन्दै उनले सचिवालयको खर्च कटौति गर्ने निर्णय प्रभावकारी बनेको दाबी गरिन्। संगठनात्मक पुनर्संरचनापछि संसद सचिवालयभित्र तरंग उत्पन्न हुनुलाई आफुले स्वभाविक लिएको पनि उल्लेख गरिन्।
संगठनात्मक पुर्नसंरचनाबाट प्राविधिक कर्मचारी असन्तुष्ट भएका छन्। संसद सचिवालयमा सचिवालय सचिव र अनुसन्धान सचिव गरि दुई सचिव पद कायम छ। संघीय संरचनामा रुपान्तरित हुदै गर्दा सचिवालयमा प्रतिनिधि सभा सचिव र राष्ट्रियसभा सचिव पद थपिने छ। सचिवको संख्या संगै सहसचिव र उपसचिवको संख्या पनि वृद्धि हुने भएकाले आर्थिक रुपमा भार थपिने टिप्पणी विज्ञहरुबाट हुदै आएको छ।
कार्यक्रममा सर्वोत्कृष्ट, उत्कृष्ट र संसद सेवा पुरस्कार पनि वितरण गरियो। यस वर्षको सवोत्कृष्ट कर्मचारी पुरस्कार सचिवालयकी माली नानी मैया धमनीयाले पाएकी छन्। त्यसैगरी उत्कृष्ट कर्मचारीको पुरस्कार कार्यालय सहयोगी मदन गिरीले पाए। त्यसैगरी सवारी चालकहरु नृपध्वज बस्नेत र राजकुमार थापाले संसद सेवा पुरस्कार पाएका छन्।
सर्वोत्कृष्ट कर्मचारी पुरस्कार एक लाख रुपैयाँ, उत्कृष्ट कर्मचारी पुरस्कार ७५ हजार रुपैयाँ र संसद सेवा पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ छ। कार्यक्रममा डोरी तान्ने र हण्डी फुटाउने, स्पुन रेस तथा म्युजिकल चियर, ब्याडमिण्डन डबल, बुद्धिचाल प्रतियोगिताका विजयी गर्ने कर्मचारीलाई सभामुख घर्तीले मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए।