राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशको राष्ट्रियता, सार्वभौमकता, र अखण्डप्रति कालो बादल मडारिएको बताएका छन्। बिहीबार प्रगतिशिल पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै केसीले नेपालका लागि संघियता क्यान्सर रोग जस्तै भएको र यसको कुनै तुक नरहेकाले यसलाई खारेजी गर्नुपर्ने जरुर रहेको बताए।
‘अहिले संघियताको विषयमा अरु दलको पनि ओठ मुख सुकेको छ’, नेता केसीले भने, ‘अन्य दललाई पनि यो खासै स्वीकार्य छैन। पहिले फसेको हुनाले उम्कन नसकेको मात्र हो।’ आफूले सबै दलको नाडि छामेको भन्दै संघियता लागू गर्छौैं भन्ने दलहरु पनि अहिले पछुताउन लागेको उनले बताए। पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सरकार भारतीय विस्तारवादको खेलौना बनेको आरोप लगाए। उनले भारतीय दूतावास लैनचौरमा सेन्सर गरिएको संविधान संशोधन प्रस्ताव सरकारले ल्याएको भन्दै त्यसलाई नेपाली जनताले मान्न नसक्ने बताए। अध्यक्ष केसीले नेपाललाई विखण्डन गराउन भारतले संघीयताको गलपासो नेपाल राष्ट्रको घाटीमा झुन्डयाईदिएको जिकिर गरे।
भिन्न जाति तथा समुदायले भरिएको नेपालजस्तो मुलुकमा सङ्घीयता कायम गर्न नहुने भन्दै अध्यक्ष केसीले भने, ‘संविधानअनुसार प्रदेशको समर्थनबिना सीमाङ्कन हुन सक्दैन। देश बचाउने जिम्मा हामी सबै नेपालीको हो राष्ट्रिय सभामा समावेशी प्रतिनिधित्वको व्यवस्था छ। त्यसैगरी भाषा र नागरिकताको विषयमा संविधान लचिलो छ।’
देशमा सबै नेपालीको एकतालाई कायम गराउन हिमाल, पहाड र तराईलाई एक अर्काबाट छुट्टयाउन नहुने उनको भनाइ थियो। प्रदेश नं. ५ को विषयमा भारतले पहाड र तराईलाई टुक्राएर सिक्कीममा लान खोजेको आरोप लगाउँदै उनले अहिले भारतको रणनीति भनेकै पहाड र तराईलाई अलग गराउने रहेको हुनाले नेपाली जनता सजग हुनुपर्ने बताए। केसीले ठूला दलहरुले पुरानै संरचनामा स्थानीय निकायको चुनाव गर्छौं भन्ने कुरा राष्ट्रिय जनमोर्चालाई स्वागत योग्य रहेको बताए।