प्रमुख तीन दलले संविधान संशोधन थाँती राखेर निर्वाचको प्रकृया अघि बढाउने विषयमा छलफल गरेपछि मधेसी मोर्चा असन्तुष्ट बनेको छ। संशोधन विधयक थाँती राख्ने चर्चा बाहिर आएपछि मोर्चा अब कसरी अघि बढ्ने भन्ने छलफलमा जुटेको छ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा अहिले मोर्चाको बैठक बसिरहेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सेतोपाटीलाई बताए।
'समसामयिक विषयमा छलफल गर्न अहिले हामी बैठकमा छौं,' उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा हिजो भएको तीन दल बैठकमा संशोधन विधेयक थाँती राखेर अघि बढ्ने विषयमा छलफल भएको थियो।
मंगलबार बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन बिधेयक थाँती राखेर स्थानीय निकायको चुनाव गर्न प्रस्ताव गरेका थिए। यो प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सहमति जनाएको देउवाको भनाई छ।
मंगलबार तीन दलले यस विषयमा छलफल गरेको समाचार आएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न मोर्चाको बैठक बसिरहको हो।
मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले मंसिर १४ गते संसदमा संशोधन विधेयक दर्ता गरेको थियो।
उक्त विधेयकमा प्रदेश नम्बर पाँचका पहाडी जिल्ला टुक्राउने र ती जिल्ला प्रदेश नम्बर चारमा मिसाउन प्रस्ताव गरिएको छ। यस्तै राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट महिला दलित र अपाङ्ग एक जना र बाँकी जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी प्रस्ताव गरिएको छ।
उक्त विधेयकमा नेपाली नागरिकसँग बिबाह गरेर आएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने प्रक्रिया सुरु भएपछि नेपाली नागरिकता दिने प्रावधान राख्न पनि प्रस्ताव गरिएको छ।भाषा आयोगको सिफारिशका आधारमा थप भाषालाई पनि राष्ट्रिय भाषाको मान्यता दिने कुरा पनि संशोधन प्रस्तावमा समावेश छ।
संशोधन विधेयक संसदमा दर्ता भएसँगै अहिले संविधानमा व्यवस्था भएको पाँच नम्बर प्रदेश टुक्र्याइएको विरोधमा बुटवल लगायतका स्थानमा व्यापक प्रदर्शन भयो।
यस्तै संशोधनको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालले यसको कडा आलोचना गर्दै विरोधका कार्यक्रम अघि सारेको थियो।
'सडक र सदनमा विरोध' गर्ने स्थायी समितिको निर्णय अनुसार एमालेले विभिन्न ठाउँमा प्रदर्शन गर्नुका साथै निरन्तर संसद अवरूद्ध पार्यो।
निरन्तर अवरूद्ध संसद खुलाउन प्रयासरत प्रधानमन्त्री दाहालले मंगलबार देउवा र ओलीसँग छलफल गरेका थिए।