एकसरो पातलो लुगाको भरमा जिन्दगी गुज्रेको ८० वर्ष पुगिसक्यो। उनलाई थाहा छैन न्यानो लुगा लगाउँदा कस्तो अनुभव हुन्छ। बुढ्यौली अनि जाडो मौसम तैपनि निरन्तर एकसरो लुगा, अनि रातिको ओछ्यान भनेको अगेनाको छेउ। महादेवस्थान गाविस–३ का सिद्धिबहादुर चेपाङ जीवनको उत्तराद्र्धमा न्यानोको खोजी गर्दैछन्।
कौसीमायाँ चेपाङ गर्भवती छिन्। घरमा खाने अन्न सकिन लाग्यो। कमाउन जान सकिने अवस्था छैन। गिट्ठा कन्दमूलको भरमा बस्नुपर्ने बाध्यता छ । तर गाउँमा आउने सहयोग अर्को गाउँमा रोकियो भन्ने सुनेका चेपाङ रुष्ट भएका छन्। उनीहरु आफूलाई पनि सहयोग पाउने गाउँमा सार्न माग गर्न सभासद्लाई भेट्न आए।
गाउँ नजिकै सांसद राजेन्द्रप्रसाद पाण्डे आएको थाहा पाएपछि ब्रुसबाङवासीले गाउँ सार्न माग गरे। महाभारतको माथिल्लो डाँडामा रहेको ब्रुसबाङ समुन्द्री सतहको एक हजार आठ सय ४५ मिटर उचाइमा बस्दै आएको ब्रुसवाङ गाउँका चेपाङसँग ६८औँ मानव अधिकार दिवसका अवसरमा सांसद राजेन्द्रप्रसाद पाण्डेले बस्ती स्थानान्तरण गर्ने बताउँदा गाउँबाट आएका खुसी भए र ताली बजाए।
फूलमाया चेपाङले अब कन्दमूल र टाँकीको पात खाएर बाँच्नुपर्ने अवस्था नआउने आशा व्यक्त गर्दै आफ्ना बालबच्चाले पनि पढ्न पाउने र अहिले जस्तो चारघन्टा टाढा पानी लिन जान नपर्ने बताइन्।
“मकै पाक्न आठ महिना लाग्छ, खान चार महिना पुग्छ, म अपाङ्गले कसरी बालबच्चा पालौँ”, गैइचबहादुर चेपाङले भने।
“आफूहरुको गाउँदेखि अर्को गाउँ टाढा भएकाले हामी महिलाले ज्याला मजदुरी गर्न जान सक्दैनौँ, कसरी बालबच्चा पालौँ”, सूर्यमायाले थपिन्। “हामी कहिलेसम्म जङ्गली कन्दमूल (गिट्ठा, भ्याकुर, वन तरुल, टाँकी, सिस्नु, च्याउ) खाएर बस्ने ”, हामी चेपाङको पनि अरूसरह अधिकार हुन्छ होला नि? बु्रसवाङ खाद्य अधिकार समूहका संयोजक प्रेम बहादुर चेपाङले प्रश्न गरे।
जाडो आयो लुगाको अभाव, गर्मी आयो सबै मानिस बिरामी हुन्छन्। पुस महिनापछि गाउँमा भोकमरी सुरु हुन्छ, खानकै समस्या।
समस्या नै समस्या भएको गाउँलाई गाविस कार्यालय नजिकै स्थानान्तरण गर्न पहल सुरु भएको सांसद पाण्डेले बताए। शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, आयआर्जन गर्न जग्गा र चेपाङ समुदायको घर बनाउन सहयोग गर्नेगरी बस्ती स्थानान्तरण गर्दा नै विकास सम्भव हुने पाण्डेको धारणा छ । ब्रुसबाङका चेपाङको बस्ती स्थानान्तरणपछि गाउँमा पर्यटनको विकास गर्ने र चेपाङ सङग्रहालय बनाउने योजना पनि रहेको छ । रासस