विद्यालयको कक्षाकोठा भवन निर्माण गर्न आर्थिक स्रोत अभाव भएपछि निर्माण कार्य नै अलपत्र परेको छ।
म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतमा अवस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत आर्थिक वर्षमा सुरु गरिएको भवन निर्माण कार्य अलपत्र परेको हो।
सांसद विकास कोषबाट रु एक लाख, जिविस म्याग्दीबाट ७५ हजार र बेनी नगरपालिकाबाट ७० हजार रुपैयाँका साथै बाँकी विद्यालय तथा स्थानीय स्रोतको व्यवस्थापनमा दुईकोठे कक्षाकोठाको निर्माण सुरु गरिएको थियो। तर निर्माणकै क्रममा गएको बर्सातको समयमा भवनभन्दा माथिबाट पहिरो खसेर भवन भत्काएपछि निर्माण कार्य नै अवरुद्ध बनेको खड्गभवानी प्राविले जनाएको छ। भवनको अभावमा विद्यालयमा अध्ययरत सबै दलित विद्यार्थी सास्ती भोग्न बाध्य छन्।
भवन नहुँदा दुईओटा कक्षालाई एउटै कक्षाकोठामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताए। विद्यालयमा कम्पाउन्ड वाल नहुँदा चोरी, डकैती, तोडफोड भइरहने तथा वस्तुभाउ पसेर हैरान पार्ने गरेको प्रअ चर्मकारले बताएका छन्।
कक्षाकोठाको अभावसँगै विद्यालयमा शौचालय र कम्पाउन्ड वालको समेत अभाव देखिएको छ भने विद्यालयमा शौचालय नहुँदा शिक्षक तथा विद्यार्थी दिसापिसाब गर्न खाली पाखोमा जानुपर्ने समस्या पनि रहेको छ। विद्यालयको समस्याबारे शिक्षा कार्यालय, जिविस र नगरपालिकामा पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर कार्कीले गुनासो गरे।
उनका अनुसार कक्षाकोठाको अभावमा शिक्षण सिकाइ क्रियाकलाप अस्तव्यस्त बन्ने गरेको छ । भवनको अभाव मात्रै होइन उक्त विद्यालयमा दरबन्दीअनुसार शिक्षकको पनि अभाव छ । कुल ५२ विद्यार्थी अध्ययनरत सो विद्यालयमा दरबन्दीका दुई, बालविकास सहयोगी कार्यकर्ता एक र विद्यालय कर्मचारी एकजना मात्रै कार्यरत रहेका छन् । विद्यालयको अवस्थाबारे म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भने कार्यालयमार्फत विद्यालयलाई आवश्यक सहयोग गरिने बताए। रासस