आगामी पुस ८ गतेदेखि पूर्वाञ्जलमा आयोजना हुने सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा २ सय ९४ स्वर्ण पदकका लागि भिडन्त हुने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ। परिषद्का अनुसार २ सय ९४ कै संख्यामा रजत र ४ सय ४७ कास्यका लागि कूल ४ हजार २८ महिला तथा पुरूष खेलाडीले प्रतिस्पर्धामा भाग लिदैछन्।
नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला मानिने बृहत राष्ट्रिय खेलकुदलाई भब्य र स्तरीय बनाउन आफूले कुनै कसर बाँकी नराख्ने परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले जानकारी दिए।
शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिषद्मा आयोजना भएको पत्रकार सम्मेलनमा उनले पूर्वाञ्चलमा आफ्नो प्रतिष्ठा गाँसिएको कारण पनि अघिल्लो संस्करण भन्दा यसपालि प्रतियोगिता व्यवस्थित हुने बताए।
‘सबै तयारी सम्पन्न भइसकेको छ। छुटपुट केही बाँकी छन्। ती उद्घाटन अगाडि सम्पन्न भइसक्ने छन्,’ उनले भने–‘हामीले पूर्वाञ्चलमा भएको श्रोत साधनलाई अत्याधिक परिचालन गरेर यो प्रतियोगिता आयोजना गर्दै छौँ।’
यस प्रतियोगिता खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि कूल ५ हजार ८ सय ९६ को हाराहारीमा सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन ८ गते हुने भनिएपनि केही खेल पुस २ देखि नै सुरु हुने बताइएको छ।
प्रतियोगिता मोरङ, सुनसरी, सप्तरी, झापा, धनकुटा गरि पूर्वाञ्चलको ४ स्थानमा हुनेछ। सातौं राष्ट्रिय खेलकुदअन्तर्गत ३५ खेल सहभागी छन्। जसमा स्विमिङ, ट्रायथोलन र बडिबिल्डिङको स्पर्धा गत असोजमा काठमाडौंमै सम्पन्न भएको थियो। बाँकी ३० खेलको आयोजना पुस २ देखि सुरु हुनेछ।
रग्वी, डान्स स्पोर्ट्स, साम्बो, रक क्लाइम्बिङ र दोहोरी गरि ५ खेललाई प्रदर्शनीको रुपमा राखिएको छ। यस्तै, फेन्सिङ, गल्फ र स्नुकरको आयोजना भएपनि उनीहरूलाई पदक तालिकामा नराखिएको सदस्य–सचिव बिष्टले जानकारी दिए।
सातौं राष्ट्रिय प्रतियोगिताका लागि परिषद्ले ३७ करोड रुपैयाँ सरकारसँग माग गरेको थियो। जसमध्ये २० करोड निकासा भइसकेको छ। बाँकीको १७ करोड निकासा हुन सकेको छैन्। तर, सदस्य–सचिव बिष्टले आफूहरूले पारदर्शीता र पूर्वाधार निमार्णको बजेट कटौती गरेका कारण माग गरेको रकममा अझै कमी आउने बताए। उनले भने– हामीले पछिल्लो समय ११ करोड ६२ लाख रुपैयाँ माग गरेका छौं। यति रकम निकासा भयो भने सातौंको आयोजना एकदमै भब्य नभएपनि स्तरीय हुनेमा शंका छैन।’
सातौंको उद्घाटन पुस ८ गते विराटनगरको सहिद रंगशालामा हुनेछ।