नेपालमा पितृसत्तावादी सोचका कारण महिला हिंसा हुने गरेको बताइएको छ।
लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका क्रममा राष्ट्रिय महिला आयोगले केयर नेपाल र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनीकरणः प्रयास र सम्भावना’ विषयका छलफलमा पूर्व महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले महिलामाथि हुने हिंसा र विभेदलाई अपराधका रुपमा लिएर तिनलाई दण्डित गर्ने कानुन बनेकाले यसलाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भने–“ नेपालको संविधान महिलामैत्री छ, संविधानमा समावेश भएका महिलाका अधिकारलाई कार्यान्वयन गरे महिला हिंसा कम हुन्छ ।” नेकपा मालेका महासचिव मैनालीले समाजमा व्याप्त अशिक्षा र गरिबीका कारण महिला हिंसा हुने गरेकाले यसलाई कम गर्न सामाजिक आन्दोलनको खाँचो औँल्याए।
राष्ट्रिय महिला आयोगका सचिव रामप्रसाद भट्टराईले आव २०७२÷०७३ मा नौ हजारभन्दा बढी घरेलु हिंसा भएको र महिला दिउँसोको तुलनामा राति बढी हिंसामा पर्ने गरेको उल्लेख गरे।
केयर नेपालका प्रतिनिधि डा विसिका थापाले सामाजिक सञ्जालमा महिला सम्बन्धमा धेरै नकारात्मक कुरा राखिने गरेकाले यसलाई रोक्नु सबैको दायित्व भएको बताए।
आयोगका कावा अध्यक्ष भगवती घिमिरे, महिला मन्त्रालयका सहसचिव विनिता भट्टराईलगायतले गर्भदेखि नै छोरीमाथि विभेद हुने काम रोक्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
आयोगले अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी चलाउँदै आइरहेको छ । रासस