तरकारीवालीको रूपमा सामाजिक सञ्जालमा भाइरल बनेकी कुसुम श्रेष्ठको गाउँ गोरखाको भुम्लिचोकमा होमस्टे कार्यक्रम गरिएको छ।होमस्टेको प्रबद्र्धन गर्ने र पर्यटन बजारसँग प्रत्यक्ष रुपमा जोड्ने मुख्य उद्देश्यका साथ नेपाल मगर पर्यटन समाजले बिहिबार भुम्लिचोक भैरबी होमस्टे ट्रिप कार्यक्रमको आयोजना गरेको समाजका उपाध्यक्ष राजकुमार थापाले जानकारी दिए।
गोरखाको फिस्लिङबाट करिब दुई घण्टाको पैदल दुरीमा पर्ने भुल्लीचोक प्राकृतिक तथा सांस्कृतिक हिसाबले धनी रहेकोले यसको पर्यटन प्रवर्धनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको थापाले बताए।
शुक्रबार पर्यटन व्यवसायी, पर्यटन पत्रकार तथा अन्य व्यक्तिहरुको टोलीले भुल्लीचोकको अवलोकन भ्रमण गरेर शनिबार फर्कने कार्यक्रम रहेको जानकारी दिए ।
समुद्री सतहदेखि १६५० मिटर उचाइमा रहेको भुम्लिचोकबाट माछापुच्छ्रे हिमालदेखि गौरिशंकर हिमालसम्मको हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। यस्तै मगर र नेवार समुदायको बाक्लो बस्ती रहेको उक्त ठाउँमा विभिन्न लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु समेत हेर्न सकिने थापाले जानकारी दिए।
प्रकृतिक सौन्दर्यका साथै यस ठाउँबाट मनोरम हिमाली दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ । विशेष गरेर मनासलु, गणेश र अन्नपूर्ण हिमश्रृंखलाहरु यस ठाउँबाट अवलोकन गर्न सकिन्छ । गुरुङ, मगर, चेपाङ र नेवारहरुको सस्कृति यो क्षेत्रको अर्को आकर्षण हो । तल्लो क्षेत्र अर्थात त्रिशुलीको किनार वरिपरि चेपाङ जातिको बसोबास रहेका छन् । उनीहरुको रीतिस्थिति र रहन सहन पनि अवलोकन गर्न सकिन्छ ।
दर्शनीय क्षेत्र यतिमै कहाँ सकिन्छ र ? यो गाविसको सबैभन्दा हेर्न दर्शनीय ठाउँ भैरवी मन्दिर र चउर हो । भैरवी मन्दिरको आफ्नै धार्मिक महत्त्व रहेको छ । त्यसको साथै भैरवी चउर आर्कषणको अर्को गन्तव्य हो। चारैतिर जङगलले घेरिएको उक्त चउर प्रकृतिको अनुपम उपहार नै हो भन्दा फरक पर्दैन । जहाँबाट मनासलु गणेश र अन्नपूर्ण हिमाल प्रस्ट देख्न सकिन्छ । जङगलमा दुर्लभ वन्यजन्तुका साथै चराचुरुङगिहरु समेत अबलोकन गर्न सकिन्छ । रतुवा मृग यस स्थानको सबैभन्दा आर्कषक पक्ष हो । यस क्षेत्रमा अवलोकन गर्न जादा रतुवा मृगको बथान समेत देख्न सकिन्छ ।
नेपाल सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भमा यस कार्यक्रमको आयोजना गरिएको हो।
कसरी जाने
पृथ्वीराजमार्ग अन्र्तगत चितवनको दारेचोक गा.वि.स को फिस्लिङबाट झोलुङ्गे पूल पार गरेर यस क्षेत्रको यात्रा सुरु गर्न सकिन्छ । त्यहाँबाट कच्ची सडकमा करिब १० किमी को यात्रा पश्चात यो स्थानमा पुग्न सकिन्छ। पर्यटकहरुले साधनको रुपमा आफ्नो मोटरसाईकल प्रयोग गर्न सकिन्छ । स्थानिय रुपमा चल्ने गाडीहरुले पनि १०० रुपैया भाडामा उक्त स्थानमा पुर्याउने गर्छन् ।
काठमाडौंबाट ९० किमीको दूरीमा छ, भुम्लिचोक । सार्वजनिक सवारीमा जान चाहनेले कलंकीबाट गाडी चढ्न सक्नेछन् । भुम्लिचोक जान बसको भाडा २ सय रुपैयाँ छ । यति भाडा तिरेपछि चितवनको दारेचोक गाविसको फिस्लिङमा लगेर बसले छाडिदिनेछ।
त्यसपछि झोलुंगे पुल तरेर भुम्लिचोक पुग्न सकिन्छ । आफ्नै व्यक्तिगत गाडीमा जाने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नुस्, गाडी लिएर जानेहरुका लागि अर्को सुरक्षित रुट पनि छ । आफ्नै सवारी साधन हुनेहरु धादिङको बेनीघाटबाट पुल तरेर दर्बुंग, ताम्लिचोक हुँदै पनि भुम्लिचोक पुग्न सक्छन् । भुम्लिचोक टेकेदेखि नै सुरु हुने तपाईंको रोमाञ्चक यात्रा तपाईं भुम्लिचोकको शीर पुग्दासम्म थप उत्कर्षमा पुगिसकेको हुनेछ ।