दक्षिण अफ्रिकाका लागि युथ–१९ विश्वकपमा कप्तानी गरिसकेका केटन जेनिङ्सले इङ्ल्यान्डबाट टेस्टमा ‘डेब्यु’ गर्ने क्रममा पहिलो इनिङमै सतक बनाएका छन्।
आफू जन्मिएको र युथ विश्वकप खेलेको देशबाट नागरिकता परिवर्तन गर्दै इङ्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका जेनिङ्सले भारतविरूद्ध विहिबारदेखि मुम्बईमा सुरु भएको चौथो टेस्टको पहिलो इनिङमा १ सय १२ रन बनाए।
उनी टेस्ट क्रिकेटको ‘डेब्यु’ खेलमै सतक बनाउने इङ्ल्यान्डका आठौं प्रारम्भिक ब्याट्सम्यान हुन्। दक्षिण अफ्रिकाको डरहममा जन्मिएका देब्रे हाते ब्याट्सम्यान जेनिङ्स कप्तान एलेस्टर कुकसँगै ब्याटिङ गर्न उत्रिएका थिए।
उनले आफ्नो सतकीय इनिङमा १३ चौका हिर्काएका थिए। उनी ‘डेब्यु’ टेस्टमा सतक बनाउने इङ्ल्यान्डका १९ औं व्याट्सम्यान पनि बन्न पुगेका छन्। ५० वर्षको अन्तरालमा एन्ड्रयु स्ट्राउस र एलेस्टर कुकले आफ्नो ‘डेब्यु’ टेस्टमा सतक बनाउने प्रारम्भिक ब्याट्सम्यानको कीर्तिमान बनाएपछि यसलाई दोहर्याउने जेनिङ्स हुन्।
सन् २००६ मा कुकले भारतको नागपुरमा ‘डेब्यु’ टेस्टमा प्रारम्भिक ब्याट्सम्यानको रुपमा सतक बनाएका थिए। यसको दस वर्षपछि इङ्ल्यान्डको प्रारम्भिक ब्याट्सम्यानको रुपमा जेनिङ्सले यो उपलब्धीलाई आत्मसाथ गरेका हुन्।
पछिल्लो पल्ट इङ्ल्यान्डका लागि भने सन् २००९ मा जोनाथन ट्रोटले ‘डेब्यु’ टेस्टमा सतक बनाएका थिए। जेनिङ्स विदेशी भूमिमा ‘डेब्यु’ टेस्टमा सतक बनाउने नवौं ब्याट्सम्यान हुन्। उनी भारतमा ‘डेब्यु सतक बनाउने तेस्रो ब्याट्सम्यान बन्न पुगेका छन्।