फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरको ६ वर्ष लामो प्रतिबन्ध कायम रहने भएको छ। आर्थिक भ्रष्टाचार काण्डमा आफूमाथि लगाएको ६ वर्ष लामो प्रतिबन्धप्रति असन्तुष्ट ब्लाटरले कोर्ट अफ आर्बिटर (कास) मा पुनरावलोकनका लागि निवेदन दर्ता गराएका थिए।
उनको निवेदनमाथि सोमबार निर्णय सुनाउदै कासले ब्लाटरको ६ वर्ष लामो निलम्बनको निर्णयलाई यथावत राख्न निर्देशन दिएको छ। ८० वर्षीय स्विस व्यवस्थापकले पनि कासको निर्णयलाई आफूले स्विकार गर्ने बताएका छन्।
१७ वर्ष फिफाको अध्यक्ष रहेका ब्लाटरलाई सन् २०१५ को भ्रष्टाचार मुद्दामा निलम्बन गरिएको थियो। उनीमाथि युरोपेली महासघका अर्का निलम्बित अध्यक्ष मिचेल प्लाटिनीसँग मिलेर १३ लाख स्टर्लिङ पाउन्डको घोटाला गरेको आरोप लागेको थियो।
ब्लाटरले तीन वर्षअघि हिसाब किताब बिना प्लाटिनीलाई रकम उपलब्ध गराएका थिए। ब्लाटरले आफूले अन्य मुद्धा नचाहेको बताए। भने–‘म यो निर्णय स्विकार गर्छु। फिफामा ४१ वर्ष काम गर्दा मैले धेरै कुरा अनुभव गरेको छु। मैले प्रायः खेलमा जीतको अनुभव गरेको छु। तर कहिले काही हार पनि हुन्छ।’ यसअघि ब्लाटर र प्लाटिनीलाई आठ वर्षको प्रतिबन्धको निर्णय सुनाइएको थियो। पछि यसलाई घटाएर ६ वर्षमा झारिएको थियो।