उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी १४ महिनाभित्र नेपालमा तीनवटा निर्वाचन गरी संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
उत्तरी धादिङको खहरेस्थित अचने उच्चमाविको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले संविधानको कार्यान्वयन गर्न स्थानीय, प्रदेश र सङ्घको निर्वाचन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए।
समृद्ध नेपाल निर्माण अहिलेको मुख्य एजेण्डा भएकाले पार्टीगत स्वार्थभन्दा माथि उठेर दलीय सहमतिमा देशलाई निकास दिन राजनीतिक दलहरूलाई उपराष्ट्रपति पुनले आग्रह गरे।
गत वर्षको भूकम्पबाट धादिङ जिल्ला ध्वस्त भएकाले पुनःनिर्माणमा जोड दिँदै यस वर्षभित्र सबै नागरिकको घर बनाउने व्यवस्था गर्नका लागि जिल्लास्थित सम्बन्धित निकायलाई आग्रहसमेत गरे । रासस