हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा केही दिन यता चिसो बढ्दै गएको छ।
चिसो बढेसँगै जिल्लाका माथिल्लो भेगमा बस्ने सर्वसाधारण जाडो छल्नका लागि तलतिर झर्ने क्रम बढेको छ। मनाङको सदरमुकाम चामेमाथिका उच्च पहाडी भूभागमा यतिखेर तापक्रम ऋणात्मक सात डिग्री पुगिसकेको मनाङका प्रजिअ गञ्जबहादुर एमसीले जानकारी दिए।
उनका अनुसार उपल्लो मनाङमा पिसाङ, घ्यारु, ङावल, भ्राका, मनाङ, टङ्की मनाङ र खाङ्सार गाविस छन्। चिसोका कारण ठाउँ ठाउँमा पानी जम्न सुरु भइसकेको बताइएको छ।
उपल्लो मुस्ताङका स्थानीयवासी जाडो छल्न तलतिर आउने क्रम बढिरहेको मुस्ताङका स्थानीय विकास अधिकारी हरि बास्तोलाले जानकारी दिए। सदरमुकाम जोमसोममा यतिखेर बिहान तथा राति लगभग ऋणात्मक चार डिग्री सेन्टिग्रेड तथा उपल्लो मुस्ताङमा ऋणात्मक पाँच डिग्री सेन्टिग्रेड तापक्रम पुगेको बताइएको छ।
उपल्लो मुस्ताङमा लोमान्थाङ, छोसेर, चराङ, छोनुप, घमी र सुर्खाङ पर्छन्। जाडो बढेसँगै मुस्ताङमा जाने पर्यटकको सङ्ख्यामा कमी आएको होटल सञ्चालक बताउँछन्। होटल ग्रान्ड साम्वालाका प्रोप्राइटर सुरज गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा यतिखेर तापक्रम ऋणात्मक पाँच डिग्रीमा झरेको तथा धारामा पानी जम्ने क्रम सुरु भएको छ। रासस