क्युबाका दिवंगत नेता फिडेल क्याष्ट्रोको अस्तु उनले क्रान्ति थालेको सहर स्यान्टियागोमा पुर्याइएको छ।
सेलाउनलाई ल्याइएको सो अस्तु सहरमा आइपुगेपछि ठूलो भीडले ‘फिडेल अमर रहुन्’ भन्ने नारा लगाएका थिए।
उनलाई अन्तिम श्रद्धाञ्जली चढाउने कार्यक्रममा हजारौं मानिस सहभागी हुने ठानिएको छ। झण्डा हल्लाइरहेका तथा फिडेल क्याष्ट्रोको तस्बिर बोकेका मानिसहरु अस्तुलाई राजधानी हभानाबाट चार दिने यात्रामा स्यान्टियागो सहर ल्याउने कार्यक्रम हेर्न आएका थिए।
फिडेलका भाइ तथा राष्ट्रपति राउल क्याष्ट्रोले स्यान्टियागोमा हुने कार्यक्रमको नेतृत्व गर्दैछन्। भेनेजुएला, निकारागुआ तथा बोलिभियाका नेताहरुका साथै अर्जेन्टिनाका फुटबल खेलाडी डियगो म्याराडोना त्यहाँ उपस्थित हुँदैछन्।
साथै ब्राजिलका पूर्व राष्ट्रपतिहरू लुइज इनासियो लुला डा सिल्भा तथा जिल्मा रुसेफ पनि सो कार्यक्रममा सामेल हुन क्युबा पुगेका छन्। सन् १९५३ को जुलाई २६ मा त्यहाँको ब्यारेकमा आक्रमण गर्ने क्रान्तिकारीहरुको सानो टोलीमा क्याष्ट्रो सहभागी थिए।
त्यो हमला विफल भयो। तर सन् १९५९ को जनवरी १ मा अमेरिका समर्थित फुल्गेन्सियो बाटिस्टाको सरकार अपदस्थ गर्न सफल क्रान्तिको त्यो पहिलो कारबाही थियो।
क्याष्ट्रोबारे भिन्न भिन्न मत पाइन्छन्। समर्थकहरुले उनलाई क्रान्तिनायक भन्छन् भने विरोधीहरुले उनी विपक्षीलाई देखिनसहने एक निरंकुश शासक भन्छन्। ९० वर्षको उमेरका नोभेम्बर २५ मा उनको निधन भएको थियो।