आजभन्दा पचास वर्ष अगाडि डेङ्गु कमैले नाम सुनेको र निकै कमले मात्र भोगेको दुर्लभ रोग थियो। सन् १९७० को दशकपछि यो यति तीब्र गतिमा बढ्दै छ कि अहिले संसारभर झन्डै आधा मानिसहरूमा डेङ्गुको संक्रमण हुन थालेको छ र यो १२४ देशमा पुगिसकेको छ।
पहिलोपटक डेङ्गुको महामारी सन् १६३५ मा वेस्ट इन्डिजमा देखिए पनि नेपालमा पहिलोपटक सन् २००६ मा यसले महामारीको रुप लियो र त्यसपछि हरेक वर्ष डेङ्गुका बिरामीहरू विभिन्न ठाउँमा देखिने गरेको छ। यो वर्ष पनि यसले झापामा महामारीकै रुप लियो भने अन्य ठाउहरुबाट पनि डेङ्गु रिपोर्ट हुने क्रम जारी छ।
विश्व परिवेशमा उष्ण प्रदेशीय देशहरूमा बढी देखिने गरेको डेङ्गुले नेपालको तराई क्षेत्रमा आतङ्क नै सिर्जना गर्ने गरेको छ। विगत केही वर्षमा डेङ्गु संक्रमितहरूको संख्या र महामारी देखिने ठाउँहरूको संख्या अत्यधिक बढ्न थालेपछि संसारैभरि र नेपालमा पनि यो रोगको चर्चा र चासो बढ्न थालेको हो।
डेङ्गु यौटा भाइरसले गराउने संक्रमण हो। डेङ्गु भाइरस चार उपजातिका हुन्छन् र यी सबै नेपालमा पाइन्छन्। यो रोग एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यसको शरीर र खुट्टामा सेता-काला धब्बाहरू हुन्छन् जसले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ। पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ र यसले दिउँसो टोक्दछ। आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले सफा र स्थिर पानी पायो भने करिब तीन सय वटा अण्डा पार्दछ। यी लामखुट्टेहरू मुख्यत: पानी संकलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्डाहरूमा बस्ने गर्छन्। हाम्रो ठाउँतिर पाइने एडिज लामखुट्टेको प्रजाति प्राकृतिक भन्दा सहरीकरण बढ्दै गएको ठाउँमा मानव निर्मित पानीका भाँडाहरूमा बस्न बढी रुचाउँछन्। आफैं २५ देखि ५० मिटर मात्र उड्न सक्ने भए पनि विभिन्न ठाउँमा बसेर यो अहिले सबैतिर पुगेको छ।
डेङ्गु भाइरसले संक्रमण गर्दैमा सबैलाई लक्षण देखिने होइन। सय जना संक्रमित व्यक्तिमध्ये २४ जनामा मात्र डेङ्गुका लक्षण तथा चिह्नहरू देखिन्छन्। तीमध्ये अधिकांशमा साधारण डेङ्गु ज्वरो देखिने हो र छ प्रतिशतमा मात्र जटिल खालको रोग देखिन्छ। राम्रो उपचार र स्याहार गर्न सके उनीहरूमध्ये पनि सयमा एक जनाको मात्र ज्यान जाने हुन्छ।
यति हुँदाहुँदै पनि प्रत्येक वर्ष ३९ करोड मानिसहरूमा डेङ्गु संक्रमण र तीमध्ये ९.६ करोड मानिसहरूमा डेङ्गु ज्वरो देखिने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ। संक्रमितमध्ये ९० प्रतिशतजति १५ वर्षमुनिका बालबालिका छन्। प्रत्येक वर्ष करिब पाँच लाख मानिसहरू जटिल खालको डेङ्गु रोगले भर्ना हुने र तीमध्ये २.५ प्रतिशतको मृत्यु हुने गरेको अनुमान गरिएको छ।
साधारण प्रकारको डेङ्गु ज्वरोमा संक्रमण भएको केही दिनभित्रै अत्यधिक ज्वरो (१०४ डिग्री फ. सम्म) आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, मतमत लाग्ने, उल्टी हुने, छालामा रगत जमेका राता डाबरहरू देखिने हुन्छ। चौथो वा पाँचौं दिन ज्वरो हराउँछ तर केही बिरामीहरूमा झन् गम्भीर खालको जटिलता उत्पन्न हुन पनि सक्छ। एस्तो हुने खतराका चिन्हहरू पेट दुख्ने, तारन्तार उल्टी हुने, कलेजो सुन्निने, झिजिने वा बेहोसीजस्तो हुनेलगायत रगतमा रातो रगतको बाक्लोपना बढ्नेसँगै रगत जमाउन मद्दत गर्ने प्लेटलेट्सको संख्या एक्कासि घट्दै जाने आदि हुन्। अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट आफैं रगत बग्न थाल्दछ जसले गर्दा पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, कालो दिसा हुने, नाक वा गिजाबाट रगत आउने हुन्छ। क्रमश:शरीरका विभिन्न अंगहरूले काम नगर्ने हुन सक्छ।
गम्भीर खालको डेङ्गुमा ज्यानै लिने समस्या भनेको अधिक मात्रामा शरीरभित्रै पानी लिक हुनु हो। यस्तो हुँदा रक्तचाप घट्दै जाने र बिरामीको ज्यान जाने पनि हुन सक्छ। त्यसपछि त्यो लिक भएको पानी रगतमा फर्केपछि मुटुमा भार थपेर पनि ज्यान लैजान सक्छ। अत: सही मात्रामा सलाइन पानी चढाएर सघन उपचार गर्न सक्यो भने मात्र बिरामीको ज्यान बचाउन सकिने हुन्छ।
धेरैजसो बच्चाहरूमा देखिने डेङ्गु एक वर्षभन्दा मुनिका शिशुहरूमा निकै गम्भीर हुने गर्छ। रोगसँग लड्ने क्षमता गुमाएका र कुपोषण भएका बच्चाहरूमा पनि जटिलता बढी देखिन्छ। पहिलोपटक देखिएको डेङ्गुभन्दा उही व्यक्तिमा दोस्रोपटक देखियो भने त्यो धेरै जटिल हुनेगर्छ।
ज्वरो आएको बच्चामा समयमै डेङ्गु हो या होइन भनेर यकिन गर्न सकियो र उसको गम्भीरता हेरेर सही तरिकाले उपचार सुरू भयो भने जटिलता आउन र मृत्यु हुनबाट बचाउन सकिन्छ। ज्वरो आउन थालेको पाँच दिनभित्रैमा रगतको परीक्षण गरेर तुरुन्तै रोग पत्ता लगाउन सकिन्छ र यो सुविधा नेपालमा पनि उपलब्ध छ। डेङ्गु फैलिएको ठाउँमा त सरकारले यस्तो परीक्षण सेवा नि:शुल्क दिएको पनि हुन्छ।
डेङ्गुलाई निको पार्ने कुनै औषधि हालसम्म बनेको छैन र कुनै एन्टिबायोटिकले यसमा काम गर्दैन। तसर्थ, डेङ्गु लाग्दा गर्न सकिने र गर्नपर्ने कुरा भनेको गम्भीर खालको डेङ्गु हो कि भनेर खतराको चिन्ह याद गरिराख्ने र त्यस्तो देखिएमा अस्पताल भर्ना गरेर शरीरको अवस्था सन्तुलनमा राख्ने उपाय अपनाउने हो। बिरामीको खान सक्ने अवस्था छ भने साबिकभन्दा बढी पानी वा झोल कुरा खुवाउनु डेङ्गुको उपचारमा निकै महत्वपूर्ण कुरा हो। गम्भीर चरणबाट पार पाउन सके दस दिनभित्र अवस्था फेरि साधारणतिर फर्किन्छ।
डेङ्गु भाइरस मानिसबाट मानिसमा सर्दैन। डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्छ। तसर्थ, दिउँसो टोक्ने यस्तो लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर छोप्ने लुगा लगाउन जरुरी छ। बच्चालाई दिउँसो सुताउँदा पनि झुलभित्र सुताउनुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ।
तीब्र बसाइँसराइँ, भ्रमण र तीब्र गतिमा बढिरहेको सहरीकरणले एडिज लामखुट्टेले डेङ्गु सारिरहेको छ। थोरै र सफा पानी जम्न सक्ने खालि बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन। पानीका ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ। गमलामा रहेका पानीलाई कम्तीमा हप्ताको दुईपटक परिवर्तन गर्नुपर्दछ।
घरका झ्याल-ढोकामा जाली लगाउने, घरवरिपरि सफा-सुग्घर राख्ने र पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्दा डेङ्गुलगायत लामखुट्टेले सार्ने औलो, जापानिज इनसेफलाइटिस जस्ता प्राणघातक रोगबाट पनि बचाउन सकिन्छ।
दु:खको कुरा यस्तो भयावह रुपमा फैलिरहेको डेङ्गु संक्रमण रोक्ने खोप आजसम्म पनि उपलब्ध छैन। केही देशहरूमा उपलब्ध हुन थाले पनि ती खोप परीक्षणका सबै चरण पार गरेर नेपाली बच्चाहरूको पहुँचमा आइपुग्न अझै केही वर्ष पर्खनुपर्ने हुन्छ।
नेपालमा डेङ्गु निकै तीब्र दरले फैलिरहेको छ। जनचेतना, रोग निदान गर्ने सुविधा र उपयुक्त उपचार सेवा निकै कम रहेकोले हरेक वर्ष डेङ्गुको महामारीबाट धेरै बालबालिका प्रभावित हुने अवस्था छ। संसारका कतिपय देशहरूमा जस्तै डेङ्गुलाई जनस्वास्थ्य चुनौती घोषणा गरेर डेङ्गु रोकथाम र नियन्त्रण गतिविधिमा सरकार र सबै सरोकारवाला तीब्र गतिमा अगाडि बढ्नु पर्ने आवश्यकता छ।
अभिभावकले पनि चर्को ज्वरो आएका आफ्ना बच्चालाई डेङ्गु पनि हुन सक्छ भन्ने शंका गरेर तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण र उपचार गर्नुपर्दछ।
(बालरोग विशेषज्ञ धरेल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप-प्राध्यापक छन्।)