डाक्टर गोविन्द केसी भन्छन्, ‘नेताहरू हुन् कि माफिया, म छुट्याउनै सक्दिनँ।’ चिकित्सा शिक्षामा सुधारको माग राखेर डा केसीले थालेको दसौं पटककको आमरण अनसन आज २०औं दिनमा आइपुग्दासम्म पनि राज्यले नसुनेको देख्दा प्रश्न उठ्छ, हामी जसलाई नेता भन्छौं असलमा ती नेता हुन वा माफिया?
डाक्टर केसीले उठाएका मागलाई सरकारले नाजायज भन्न सकेको छैन, तर पूरा गर्न चाहिरहेको पनि छैन। सरकार स्वयंले थाल्नु पर्ने सुधारलाई एक निस्वार्थ र निस्पृह चिकित्सकले आफ्नो जीवन नै वलिवेदीमा चढाउँदा समेत हाम्रा नेतृत्व पंक्ति संवेदनशील देखिएको छैन। सरकार र डा केसीका प्रतिनिधिवीच वार्ताको थालनी भएदेखि एउटै कुरामा गएर हलो अड्किएको छ, त्रिविका उप-कुलपति तीर्थ खनियाँ र आइओएमका डिन केपी सिंहको राजीनामा।
कुलपति खनियाँमा केसीको जीवन रक्षाप्रति संवेदनशीलता नरहनु कुनै आश्चार्यको विषय पनि भएन तर आफूलाई केसी कै ‘अनन्य’ मित्र दावी गर्ने सिंह किन डिनको कुर्सीमा फेबिकोल लगाएर टाँसिइबसेका छन्, त्यो निकै रहस्यपूर्ण छ। किनकि, स्वयं चिकित्सक रहेका सिंहलाई ६० वर्ष कटेको व्यक्ति २० दिनभन्दा बढी निराहर बस्दा कुन अवस्थामा पुगिसकेको हुन्छ र आउने दिनको परिणति के हुनेछ भन्ने कुराको भलिभाती ज्ञान छ। तर, उनी मित्र केसीको शरीर चीसोमै किन नबदलियून, तर कुर्सीको न्यानो त्याग्न नसक्ने देखिन्छन्।
निस्कर्ष दिन नसक्ने वार्ता यसैगरी लम्बिइने हो भने, यसबाट आउने दुष्परिणाम बारे अब कसैले के हुनेछ भनेर लख काटिरहनु पर्दैन। सरकारको संवेदनहीनता अनि उप-कुलपति र डिनको भित्री मनशाय बुझ्दा यी सबै डा केसीको अन्त्य पर्खिरहेको प्रष्ट हुन्छ। जन नेता भनाउनेहरूका लागि एक सदाचारी चिकित्सकभन्दा ‘प्लाजिरिस्ट’ एकेडेमिसियन प्रिय हुन्छ, अनि तिनै प्लाजिरिस्ट एउटा प्यादा खोजेर आफ्नो अभीष्ट सिध्दीका लागि चिकित्सा क्षेत्र तहस-नहस गर्न खोज्छन्। र, एउटा मित्र लोकलज्जाको कुनै पर्वाह नगरी आफ्ना ‘अनन्य’ मित्रलाई मृत्यु तर्फ धकेल्छन्, यी सवै परिदृश्यले माफिया पोषित तथा पल्लवित नेता केसीको अन्त्य कुरिरहेका गिध्दहरू जस्ता झैं देखिइरहेका छन्।
चिकित्सा शिक्षालगायत देशका तमाम वेथिति प्रति सत्याग्रहको शान्तिपूर्ण अस्त्र प्रहार गर्दै आएका डा केसी दसौं सत्याग्रहसम्म आइपुग्दा जन-जनका हृदयमा वास बसिसकेको प्रमाण उनको समर्थनमा लेक, बेँसी, तराई, पहाड सर्वत्र देखिएको समर्थन हो। तर, यस बिपरित, उनको सत्याग्रहबाट रन्थनिएका सिटामोलमा कमिसन खाने व्यापारी, चिकित्सा शिक्षालाई विष्णुमति किनारको बधशाला झै व्यापार गर्ने शैक्षिक माफिया र तिनैको नजरानाले सुविधा बिलास गर्ने नेताका स्वर्गका सबैभन्दा ठूला तगारो डा. केसी नै बनिसकेको कुरा छर्लङ्ग छ। यसै कारण नेता-माफिया गठबन्धन वार्तालाई लिसिङ्-पिसिङ् गर्दै केसीको अन्त्य चाहिरहेको बुझ्न गाह्रो पर्दैन। नभए देशमा राजतन्त्रको जरै उखेल्न र प्रतिकूलताका बावजूद पनि संविधान जारी गर्न सक्ने नेतृत्वपंक्ति वौध्दिक चोरी र अनियमितताका बात लागेका उप-कुलपति खनियाँ र विभिन्न अनियमिततामा मुछिइसकेका डिन सिंहलाई वर्खास्त किन गर्न सक्दैनन्?
डा. केसी प्रतिको असंवेदनशीलता उनलाई हृदयमा राख्ने करडौ नेपालीको धैर्यको परिक्षा पनि हो। कदाचित् केसीलाई कुनै अनिष्ट भइहाले ती असंख्य नेपाली उनको अन्त्य चाहने गिध्दहरूमाथि अरिङ्गल झैं जाइलाग्ने छन्। करोडौं नेपालीको हितलाई लत्याएर सय-दुईसय मुनाफाखोर माफिया पोस्ने ती नेताहरूको हविगत के हुनेछ, त्यो समयले नै देखाउनेछ। सबैलाई चेतना भया!