सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि पहिलो पटक बसेको संसद बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरुद्ध गरेको छ। संसद बैठक अवरुद्ध भएपछि सांसदहरु निस्कने क्रममा
प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकछिन भेट्न खोजे।
‘दाहालले एकछिन कुरा गरौं भन्नुभयो’, एमाले सांसद रवीन्द्र अधिकारीले पत्रकारहरुसँग भने ‘हाम्रो अध्यक्षले पहिला त प्रधानमन्त्रीको अनुहारै हेर्न मन छैन के कुरा गर्नु भन्नुभयो, तरपछि केहीबेर दुई नेताबीच कुराकानी भयो।’
अधिकारीका अनुसार दाहालले ओलीलाई चुनावमा जानुपर्ने बताएका थिए। ‘जवाफमा अध्यक्षले एमाले सधैँ चुनावका लागि तयार भएको र त्यसका लागि खुट्टा कमाउँदैन भन्नुभयो’, अधिकारीले भने।
हिजो सिंहदरबारमा भएको चार दलको बैठकमा एमाले अध्यक्ष ओली उपस्थित थिएनन्। स्वास्थ्यमा समस्या भएकाले उनले बुधबार दिनभरी आराम गरेका थिए।
मंगलबार राति सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि दाहाल ओलीबीच बिहीबार पहिलो पटक कुराकानी भएको हो।