स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षामा व्याप्त बेथितिविरुद्ध १८ दिनदेखि अनसनरत डा. गोविन्द केसीले राखेका मागमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले ऐक्यबद्धता जनाएका छन्।
बिहीबार दिउँसो केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर कान्तिपुरका सम्पादक सुधीर शर्मा, द काठमाडौं पोस्टका अखिलेश उपाध्याय, नागरिकका गुणराज लुइँटेल, रिपब्लिकाका सुवास घिमिरे, द हिमालयन टाइम्सका प्रकाश रिमाल, कान्तिपुर टेलिभिजनका दिलभूषण पाठक, बाह्रखरी डट कमका प्रतीक प्रधान, नेपाल साप्ताहिकका प्रशान्त अर्याल, हिमाल खबरपत्रिकाका किरण नेपाल र सेतोपाटी डट कमका नारायण वाग्लेले आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।
सम्पादकहरूले डा.केसीले निष्ठाको संघर्ष गरेको भन्दै उनको बिग्रँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे। अमरण अनसन १९ औं दिन पुग्दासम्म उनका मागको सुनुवाइ नभएपछि सम्पादकहरुले त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका हुन्।
उक्त अवसरमा बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानले डा. केसीले उठाएका माग आमजनताको हितमा रहेकाले सम्पूर्ण सञ्चारमाध्यमको समर्थन रहेको बताए। उनको मागलाई बेवास्ता गर्नेहरू सच्चा सञ्चारकर्मी हुन नसक्ने उनको भनाइ थियो।
काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले केसीको बिग्रँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे। यसमा सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।
हिमालयन टाइम्सका प्रधान-सम्पादक प्रकाश रिमालले पनि निष्ठामा आधारित डा. केसीको अभियानमा सबै मिडियाको साथ रहने बताए।
सेतोपाटीको प्रमुख लेखक नारायण वाग्लेले डा. केसी अनसनमा रहँदा पनि र नरहँदा पनि उनका मागलाई मिडियाले प्राथमिकतासाथ उठाउँदै आएको बताए। डा. केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्दै उनले भने, ‘तपाईं अनसनमा रहे पनि नरहे पनि तपाईंले उठाएका मुद्दामा मिडिया सधैं साथ छ।’
देशका प्रमुख मिडियाका सम्पादकहरूले बिहीबार नै साझा अपिल जारी गर्ने तयारी गरेका छन्।