प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले नै सरकारले अघि सारेको संविधान संशोधन विधेयक असफल हुने दाबी गरेका छन्।
५ नम्बर प्रदेशलाई बिनाकारण टुक्राइएको भन्दै विरोधमा रहेका सांसदहरूले यो संशोधन विधेयक असफल हुने बताएका हुन्।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले संशोधन विधेयकको पक्षमा मतदान नगर्ने सेतोपाटीलाई बताए।
'सबै जिल्ला ठप्प छन्, जनता सडकमा उत्रिएका छन्,' उनले भने, 'अनि हामीले कसरी विधेयकलाई समर्थन गर्न सक्छौं? जनता एकातिर, जनप्रतिनिधि अर्कैतिर हुनै सक्दैन।'
भण्डारी गुल्मी निर्वाचन क्षेत्र नम्बर २बाट निर्वाचित सांसद हुन्।
उनले आफू थारू, मधेसी र जनजातिको माग पुरा हुनु पर्ने पक्षमा आफू भएको भन्दै यो संशोधनले उनीहरूको माग नसमेटेको बताए।
'यो संशोधनले मधेस र थरूहटको माग सम्बोधन गर्दैन,' उनले भने, 'यो संशोधनमा प्रदेश नम्बर ५ विभाजन गर्ने षडयन्त्र मात्रै गरेको छ।'
यस्तै माओवादी केन्द्रका सांसद टोपबहादुर रायामाझीले संशोधन विधेयकको पक्षमा मतदान गर्ने बाध्यता आफूलाई नभएको बताए।
पार्टीमा संशोधन विधेयकबारे छलफल नै नभएको दाबी गर्दै उनले भने, 'यो विधेयक सरकारको हो, पार्टीको होइन। प्रचण्डजीले जानकारी गराउनु भएको हो तर छलफल भएको छैन।'
यो क्षेत्रका जनता सीमाङ्कन हेरफेरको विरुद्धमा रहेकाले आफूले पनि विधेयकको विपक्षमा मतदान गर्ने उनले बताए।
'यो विधेयक समस्या समाधान गर्न ल्याइएको होइन, द्वन्द्व बढाउन र बल्झाउन ल्याइएको हो,' उनले भने,'यो संशोधन विधेयक असफल हुन्छ।'
रायामाझी अर्घाखाँची १बाट निर्वाचित सांसद हुन्।
उनले चाँडै ५ नम्बर प्रदेशका सबै प्रतिनिधिले संयुक्त विरोध जनाउने तयारी भइरहेको बताए।
सरकारले ५ नम्बर प्रदेशका केही जिल्ला ४ नम्बर प्रदेशमा मिसाउने लगायत केही बुँदामा संविधान संशोधन गर्न बनेको विधेयक हिजो राती संसदमा दर्ता गरेको थियो।