पोखरा—काठमाडौँ पृथ्वी राजमार्गमा पर्ने सानाठूला दुई दर्जन मोटरेवल पुलको मर्मत कार्य सुरु गरिएको छ।
पुल जीर्ण र कमजोर हुन थालेपछि ती पुलको मर्मत सुरु गरिएको छ। ती पुलहरुमा रङ्गरोगन गर्ने, लुज भएका नटबोल्ट टाइट गर्ने, वेल्डिङ गर्ने, दायाँ बायाँ बोर्ड राख्ने काम हुने पुल योजना सेक्टर नं. २, मध्यक्षेत्र, पाटनढोका, ललितपुरका इन्जिनियर रमेश सुवेदीले बताए।
पृथ्वी राजमार्गमा पर्ने सानाठूला दुई दर्जन पुलको मर्मत थालिएको जानकारी उनले र्दिए।
उक्त कार्यका लागि ९ करोड रुपैयाँ खर्च लाग्ने उनले बताए। यस वर्ष पृथ्वी राजमार्गको सबैभन्दा लामो ३७० मिटरको मादीनदी पुल, डाङडुङ पुल, हुक्दी पुल, अँधेरीखोला पुल, खानीखोला पुललगायतका पुल मर्मत गरिनेछ।
‘नौविसे–पोखरा सडक खण्डमा पर्ने स–साना पुलहरु समेत मर्मत भइरहेका छन्,’ इञ्जिनियर सुवेदीले भने, ‘तीन महिना भित्रमा मर्मत सकिनेछ’।
फागुन मसान्तसम्ममा ती पुलको मर्मत सकिने सो आयोजनाले जनाएको छ । सुवेदीका अनुसार यस वर्ष मुग्लिनको पुल, विजयपुर खोलाको पुल भने मर्मतमा परेको छैन । रासस