सांसदहरूले अनशनरत डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले केसीका माग पूरा गर्न सरकार गम्भीर नभएको आरोप लगाए।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद ललितजंग शाहीले केसीका माग तत्काल पूरा गर्न माग गरे। उनले केसीका मागबारे सरकारले आफ्नो धारणा दिनुपर्ने बताए। ‘सरकारले किन केसीका माग पूरा गरेको छैन?’ शाहीले प्रश्न गरे ‘सरकार किन मौन छ?’
नेकपा माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले सरकारले विगतमा केसीसँग गरेका सहमति कार्यान्वन नभएकोमा आपत्ति जनाए। उनले केसीसँग भएका सहमति तत्काल कार्यान्वन गर्न समेत माग गरे ।
नेपा पार्टीका सांसद लक्ष्मणराज वंशीले सरकारले केसी अनशन बसेको थाहा नपाएको हो भन्दै प्रश्न गरे।
‘सरकार किन सुतेर बसेको छ?’ उनले प्रश्न गरे ‘सरकारले केसीका मागबारे जानकारी नै नभए जस्तो गरी किन कानमा तेल हालेर बसेको छ?’