ब्राजिलियन फुटबल क्लबका खेलाडी / तस्बिरः एएफपी
ब्राजिलियन फुटबल क्लबका खेलाडीसहित ८१ व्यक्ति बोकेको विमान विद्युतीय गडबडीका कारण दुर्घटनाग्रस्त भएको बताइएको छ।
दक्षिण अमेरिकाको दोस्रो ठूलो प्रतियोगिता मानिने कोपा सुदामेरिकाना खेल्न बोलिभियाबाट उडेको विमान कोलम्बियाको मेडेलिन शहरको केरो गोर्डेन भन्ने ठाँउको एउटा डाँडोमा गएर ठोकिएको थियो। स्थानीय समयअनुसार मंगलबार बिहान ५ बजे दुर्घटनाग्रस्त जहाजमा ब्राजिलको ‘ए’ डिभिजन क्लब चापेकोइन्सेका खेलाडी पनि सम्मिलित थिए।
बोलिभियन चार्टर एयरलाइन्स लामियाको अधिनमा रहेको ब्रिटिश एरोस्पेस १४६ मोडलको यो सानो विमानमा खेलाडीसहित ७२ यात्रु र नौ विमान कर्मचारी यात्रा गरिरहेका थिए। जसमध्ये ६ जनालाई जीवित उद्धार गरिएको बताइएको छ।
विमानस्थलले सार्वजनिक गरेको विज्ञप्तिमा विद्युतीय उपकरणमा आएको गडबडीका कारण विमानसँग सम्पर्क बनाउन असफल भएपछि दुर्घटना भएको हो। हिमाली क्षेत्र भएका कारण दुर्घटना भएको ठाउँको मौसम खराब थियो। विमानमा ठूलो आगजनी नभएका कारण अझै यात्रुहरू जीवित भेटिन सक्ने बताइएको छ।
विमान दुर्घटनाको घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले बुधबारदेखि कोलम्बियामा आयोजना हुन लागेको कोपा सुदामेरिकाना प्रतियोगितालाई स्थगित गर्ने निर्णय गरेको छ। यही प्रतियोगितामा सहभागी हुन ब्राजिलको ‘ए’ डिभिजन क्लबमा नवौं स्थानमा रहेको चापेकोइन्से फुटबल टिम स्थानीय स्ट्लेटिको नासियोनलविरूद्ध पहिलो लेगको खेल खेल्न बोलिभियाबाट उडेको थियो।
ब्राजिलको दक्षिणी शहरमा पर्ने चापेकोमा अवस्थित चापेकोइन्से क्लब २०१४ मा ‘ए’ डिभिजन क्लबमा बढुवा भएको थियो। यो क्लब १९७३ मा स्थापना भएको हो भने आर्थिक हैसियतका दृष्टीकोणले ब्राजिलको २१ आंै ठूलो क्लबभित्र पर्छ। क्लबको वार्षिक आय १ करोड ३५ लाख अमेरिकी डलर रहेको बताइन्छ।