मोरङमा १ सय ३८ नयाँ कुष्ठरोगी फेला परेका छन्। गएको चार महिनामा मोरङमा १ सय ३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिए।
गत वर्ष मोरङमा २०२ जना नयाँ कुष्ठरोगी फेलापरेका थिए। प्रति दशहजारमा एकभन्दा कम कुष्ठरोगीको सङ्ख्या कायम गर्ने लक्ष्यका साथ सरकारले काम गरेपनि मोरङमा भने कुष्ठरोगीको सङ्ख्या धेरै पाइएको छ। मोरङमा प्रति दशहजारमा १ दशमलव ४ प्रतिशत कुष्ठरोगी रहेको जनस्वास्थ्यले जनाएको छ।
मोरङको बुधनगर, आमगाछी, बरडङ्गा, उर्लाबारी, बयरवन, महादेवा, रङ्गेलीलगायतका स्थानमा बढी मात्रामा कुष्ठरोगीको सङ्ख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। मोरङमा कुष्ठरोगका कारण अङ्गभङ्ग हुने दर भने घटेको बताइएको छ। रासस