स्वास्थ्य मन्त्री गगन थापाले सर्वसाधारण नागरिकले निःशुल्क रगत पाउने व्यवस्था गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
रक्तसञ्चार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने संवैधानिक व्यवस्था अनुसार चल्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।
रक्तदाताले निशुल्क दिएको रगत सेवाग्राहीलाई शुल्क लिएर वितरण गर्नु मानवीय हिसाबले पनि उचित नभएको उल्लेख गर्दै मन्त्री थापाले अब त्यसो हुन दिन नहुने उल्लेख गरे। रगत परीक्षणको नाममा स्वास्थ्य संंस्थाहरुले शुल्क लिइरहेका बेला मन्त्री थापाले त्यसलाई निःशुल्क बनाउन कानुन, ऐन संशोधन गर्न परे पनि आफू तयार रहेको स्पष्ट पारे।
मन्त्री थापाले दसैैं–तिहारजस्ता चाडपर्वका बेला रगतको अभाव देखिने गरेको भन्दै त्यसलाई पूर्ति गर्न राष्ट्रिय अभियानको आवश्यकता रहेको बताए।