सात भिडन्तमा रियल सोसिडाडलाई उसको घरमा हराउन नसकेको बार्सिलोनाको तीतो इतिहासले पुनः निरन्तरता पाएको छ। सन् २००७ देखि सोसिडाडको घरेलु रंगशाला एनोइटामा स्पष्ट तीन अंक जोड्न नसकेको क्याटलान क्लबलाई गए राति पनि सोसिडाडले बराबरीमा रोक्यो।
स्पेनिस ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा सोसिडाडले पुनः बार्सिलोनालाई १-१ गोलको बराबरीमा रोक्यो। यो नतिजासँगै बार्सिलोना अंक तालिकामा आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा ६ अंकले पछाडि पर्न पुगेको छ। हाल म्याड्रिडको ३३ अंक छ भने बार्सिलोना २७ अंकका साथ दोस्रो स्थानमा छ।
आइतबार पनि बार्सिलोनालाई अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले उद्धार गरे। ब्राजिलियन स्ट्राइकर डा सिल्भाले ५३ मिनेटमा सोसिडाडलाई अग्रता दिलाएका थिए। जुन मेसीले ६ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।
पछिल्लो पल्ट फ्राङ्क रिजकार्डको प्रशिक्षणमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा पराजित गरेको थियो। त्यसपछि बार्सिलोनामा आवद्ध ४ प्रशिक्षक पेप ग्वार्डिओला, टिटो भिलानोभा, टाटा मार्टिनो र लुचो सान सेबास्टियनमा खुसी मनाउन असफल भएका थिए।
बार्सिलोनाले आउँदो शनिबार रियल म्याड्रिडसँग खेल्दैछ।