शनिवार म्याड्रिडको सान्टियागो बेर्नाबेउ रंगशालामा घनघोर पानी परेको राती घरेलु रियल म्याड्रिड र स्पोर्टिङ गिजोनका खेलाडी मैदानमा निथ्रुक्क थिए। बर्षाका कारण दुवैतर्फका खेलाडीलाई बल चलाउन हम्मे हम्मे परिरहेको थियो। तरपनि घरेलु टोलीले क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगले गिजोनलाई २–१ ले पराजित गर्दै स्पष्ट तीन अंक बटुल्यो।
यो नतिजा आउनुमा रोनाल्डोको खेलको विशेषता आफ्नै ठाउँमा होला! तर, रियल म्याड्रिडको जर्सीले पनि केही जस पाएको छ। स्पेनिस राजधानीमा शनिवार परेको भारी बर्षामा म्याड्रिडका खेलाडी लगभग छ्याङ्ग देखिने जर्सीमा मैदान प्रवेश गरेका थिए।
अन्य खेलको तुलनामा शनिवार उनीहरू अर्के जर्सीमा सजिएको देखिएका थिए। उनीहरूको जर्सी वातावरण अनुकुलित थियो।
च्याम्पियन्स लिग विजेता क्लबको जर्सी पानी परेको बेला आखिर कसरी त्यस्तो भयो? धेरैका लागि यो गम्भीर प्रश्न हुन सक्छ। तर, लामो समयदेखि रियल म्याड्रिड क्लबलाई पछ्याइरहेका समर्थकका लागि थाहा भएको विषय हो। शनिवारको खेलमा म्याड्रिडका खेलाडीले लगाएको जर्सी पातलो रेसायुक्त प्लास्टिकले बनेको हो।
‘इन्डियन ओसन’बाट जम्मा गरेर ल्याइएको बोतलहरूलाई ‘रिसाइकल’ गर्दै खेलकुदको समान बनाउने कम्पनी एडिडासले विशेषरुपमा यो जर्सीलाई बनाएको हो। एउटा जर्सी बनाउन २८ वटा खाली बोतल प्रयोग भएको हुन्छ।
जर्मनी कम्पनी एडिडासले यसअघि वायर्न म्युनिखका लागि यस्तै किट्स उत्पादन गथ्र्यो। एडिडास केही वर्षदेखि समुन्द्रमा फ्याँकिने प्लास्टिकका कारण जीवजन्तुमा आउने खतराको विषयमा छेडिएको अभियानमा सक्रिय छ।