क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको निधन भएपछि विश्व प्रसिद्ध फुटबल खेलाडी डीएगो म्यारोडोनाले ‘दोस्रो पिता’ गुमाएको अभिव्यक्ति दिएका छन्। क्रोएसियामा रहेका अर्जेन्टिनाका पूर्व फुटबल कप्तान म्यारोडोनाले क्यास्ट्रोको निधनपछि सञ्चारमाध्यमसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
कोकिन सेवनको लतबाट जीवन नै संकटमा परेको बेला म्यारोडोनाले त्यसबाट छुटकारा पाउन क्यूबामा ४ वर्षसम्म बसेर उपचार गरेका थिए।
‘उनले मलाई सुझाव दिन्थे, ड्रग्सका बारेमा कुरा गर्थे र आफूले सक्ने कुनै पनि सहयोगका तत्पर रहेको बताउँथे,’ म्यारोडोनाले क्यास्ट्रो सम्झँदै भने, ‘अर्जेन्टिनामा उपचारका लागि सबै क्लिनिकका ढोका बन्द थिए। मेरो मृत्युको झन्झटमा कोही पर्न चाहँदैन थिए। तर, क्युबाले मेरो लागि ढोका खोलिदियो।’
क्युवा बसाईका क्रममानै पूर्वराष्ट्रपति क्यास्ट्रो र म्यारोडोनाबीच भावनात्मक सम्वन्ध विकास भएको थियो। उनले आफ्नो खुट्टामा क्यास्ट्रोको ‘ट्याटू’ बनाएका थिए जुन अझै छ। उनले भनेका थिए, ‘भगवानसहित क्यास्ट्रो त्यस्तो व्यक्ति हुन् जसका कारणले म अहिले जिवित छु।’
९० वर्षको उमेरमा शुक्रबार निधन भएका क्यास्ट्रोको दाहसंस्कार डिसेम्बर ४ मा गर्ने कार्यक्रम छ।