पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनकालभरि एउटा तस्बिर निकै संगालेर राखे।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्दा होस् या त्यहाँबाट निस्केर महाराजगन्ज निवासमा बस्दा, कोइरालाको बसाइ जहाँ–जहाँ भयो त्यो रंगीन तस्बिरले त्यहीँ–त्यहीँ भित्ताको शोभा बढायो। उनी त्यसलाई सधैं आफ्नो बैठक कोठाको भित्तामा झुन्ड्याउन लगाउँथे, जहाँ उनका औपचारिक भेटघाट हुन्थे।
के छ त्यो तस्बिरमा जसलाई कोइरालाले बाँचुञ्जेल आफूबाट अलग हुन दिएनन्?
सन् १९९२ मा खिचिएको त्यो तस्बिरमा कोइराला चार जना यस्ता अन्तर्राष्ट्रिय नेतासँग उभिएका छन्, जो आफ्नो समयका क्रान्तिकारी थिए।
तीमध्ये एक हुन्, क्युबा क्रान्तिका नायक फिडेल क्यास्ट्रो, जसको ९० वर्षको उमेरमा शनिबार निधन भयो।
...
वर्षः १९९२
दिनः जुन ४
देश: ब्राजिल
सन्दर्भः संयुक्त राष्ट्रसंघीय वातावरण तथा विकास सम्मेलन
राष्ट्रसंघले ब्राजिलको रियो दे जेनेरियोमा पहिलो वातावरण तथा विकास सम्मेलन आयोजना गरेको थियो। अर्थ सम्मेलनका रूपमा चिनिने उक्त समारोहमा १ सय ५ देशका प्रतिनिधिले भाग लिएका थिए।
नेपाल तर्फबाट तत्कालीन प्रधानमन्त्री कोइराला, वनमन्त्री शैलजा आचार्य, राष्ट्रिय योजना आयोगका डा. रामप्रकाश यादव, राष्ट्रसंघस्थित नेपालका स्थायी प्रतिनिधि जयराज आचार्य, कोइरालाका स्वकीय सचिव हरि शर्मा लगायत वन तथा कृषि मन्त्रालयका सचिव तथा अन्य अधिकारी सहभागी थिए।
सम्मेलन अवधिभरि कोइरालासहित नेपाली प्रतिनिधिमण्डल कोपाकाबाना समुद्रीतटको ठिक अगाडि रहेको कोपाकाबाना होटलमा बसेको थियो। त्यही होटलमा तत्कालीन चिनियाँ प्रधानमन्त्री ली पेङ पनि बसेका थिए।
जुन ३ तारिखमा सम्मेलन उद्घाटन भयो। त्यसको भोलिपल्ट चिनियाँ प्रधानमन्त्री ली पेङले चार मुलुकका राष्ट्र/सरकार प्रमुखलाई रात्रिभोजको निम्तो दिए। निम्तो पाउनेमा कोइरालासहित क्युबाली नेता फिडेल क्यास्ट्रो, प्यालिस्टिनी राष्ट्रपति यासेर अराफात र नामिबियाका तत्कालीन प्रधानमन्त्री साम नुजोमा थिए।
हुन त त्यसअघि नै कोइराला र क्यास्ट्रोको शिष्टाचार भेट भइसकेको थियो। तर, चिनियाँ प्रधानमन्त्रीको निम्तोमा भएको त्यो रात्रिभोज र भेटघाटले कोइरालाको जीवनकालभरि विशेष महत्व राख्यो।
‘चिनियाँ प्रधानमन्त्रीले आफ्नो छिमेकी राष्ट्रको सरकार–प्रमुखका रूपमा मात्र होइन, तत्कालीन समयमा विश्वकै चर्चित क्रान्तिकारी नेताहरूको कोटीमा राखेर कोइरालालाई रात्रिभोजमा निम्ता गरेका थिए,’ कोइरालाका तत्कालीन स्वकीय सचिव हरि शर्माले शनिबार सेतोपाटीसँग भने।
सामान्यतया यस्तो बहुपक्षीय रात्रिभोज हुने स्थलमा स–साना ‘क्युबिकल’ (कोठा) हुन्छन्। रात्रिभोज सुरु हुनुअघि विशिष्ट पाहुनाहरू क्युबिकलमा बसेर केही बेर कुराकानी गर्नुलाई सामान्य शिष्टाचारकै रूपमा लिइन्छ।
त्यस दिन पनि त्यही भयो।
रात्रिभोजको तयारी हुँदै गर्दा यी पाँचै जना नेता एउटा क्युबिकेलमा छिरेर कुराकानी गरे।
त्यतिबेला क्युबाले वार्षिक पाँच–दस जना नेपाली विद्यार्थीलाई मेडिकल छात्रवृत्ति दिने गर्थ्यो। पञ्चायतकालमै सुरु भएको उक्त शैक्षिक छात्रवृत्ति कार्यक्रमले प्रजातन्त्र पुनर्स्थापनापछि पनि निरन्तरता पाएको थियो।
बैठक क्रममा कोइरालाले ‘नेपाली विद्यार्थीलाई मेडिकल छात्रवृत्ति दिएकोमा’ क्यास्ट्रोलाई धन्यवाद भनेको शर्मा सम्झन्छन्।
कुराकानीकै क्रममा उखु र चिनी उत्पादनको प्रसंग उठ्यो। कोइरालाले नेपालमा ठूलो परिमाणमा उखु खेती हुने र त्यसमा हजारौं किसानको जीवन आश्रित रहेको जानकारी दिए।
यो सुनेर सबभन्दा खुसी भए, फिडेल क्यास्ट्रो।
कोइरालाको मुखबाट उखु उत्पादनको कुरा उठ्नासाथ क्यास्ट्रोको अनुहार खुसीले धपक्कै बलेको शर्मा बताउँछन्।
हुन पनि कुनै बेला क्युबा संसारकै सबभन्दा ठूलो चिनी निर्यातक राष्ट्र थियो। सन् १९६० दशकसम्म अमेरिकामा खपत हुने ३३ प्रतिशत चिनी क्युबाबाटै आयात हुन्थ्यो। शीतयुद्ध कालमा पनि क्युबाको चिनीले विश्व बजारमा तहल्का मच्चाएको थियो। अमेरिकासँग व्यापारिक सम्बन्ध बिच्छेदपछि भने क्युबाको उखु खेती नराम्ररी प्रभावित भयो। दुई–तिहाइ चिनी मिल बन्द भए। लगभग एक लाख कामदारले रोजगार गुमाए। कुनै बेला वार्षिक ८० लाख टन चिनी उत्पादन गर्ने क्युबामा अहिले ३२ लाख टन उत्पादन हुने गरेको तथ्यांक छ।
यसरी आफ्नो देशको अर्थतन्त्रको ठूलो हिस्सा जोडिएको उखु र चिनीको प्रसंग उठेपछि फिडेल क्यास्ट्रो खुसी नहुने कुरै थिएन। त्यसमाथि नेपालमा पनि ठूलो परिमाणमा उखु उत्पादन हुन्छ भन्ने कोइरालाबाट सुनेपछि उनी झनै पुलकित भएका थिए।
शर्माका अनुसार त्यतिबेला क्यास्ट्रोले नेपाल र क्युबाको सम्बन्धलाई चिनीसँग दाँजेका थिए। भनेका थिए, ‘हाम्रो सम्बन्ध पनि चिनीजस्तै गुलियो छ।’
पाँच जना नेताको उक्त बैठक झन्डै १५ मिनेट चलेको थियो। त्यसपछिको रात्रिभोज भने तीन घन्टा चलेको शर्मा बताउँछन्।
बैठकमा कोइराला र क्यास्ट्रोबीच उखु मात्र होइन, चुरोटका बारेमा पनि कुराकानी भएको हुनुपर्छ।
यी दुवै नेता सुर्तीका अम्मली थिए। क्यास्ट्रोको त परिचय नै दुईवटा चिजसँग जोडिएको छ, क्युबाली क्रान्ति र क्युबाली सिगार। उनले ओठमा सिगार नच्यापेको तस्बिर सायदै देखिन्छ। उच्चस्तरीय बैठकमा पनि क्यास्ट्रो हात वा ओठमा सिगार च्यापेकै हुन्थे।
यता, कोइरालाको व्यक्तित्वसँग पनि दुईवटा चिज जोडिन्छ, नेपालको प्रजातान्त्रिक आन्दोलन र चुरोट। उनले बिरामी भएर ओछ्यान पर्नुअघिसम्म चुरोट कहिल्यै छाडेनन्। कोइरालालाई चिया र चुरोट नभई हुँदैनथ्यो भनेर उनका निकटस्थहरू सधैं सम्झने गर्छन्।
सायद बैठक क्रममा कोइरालाको यो चुरोटप्रेम बुझेर नै हुनुपर्छ, त्यस दिनको भेटपछि फिडेल क्यास्ट्रोले कोइरालालाई एक प्याकेट सिगार उपहार पठाएको शर्मा सम्झन्छन्।
क्युबा संसारमै सुर्ती बढी उत्पादन हुने राष्ट्रमा पर्छ। उच्चकोटीको क्युबाली सिगारलाई प्रतिखिली ३० अमेरिकी डलर (तीन हजार रुपैयाँ) सम्म पर्छ। क्युबाली सिगार कतिसम्म लोकप्रिय छ भने, क्युबामाथि ५० वर्ष लामो व्यापारिक नाकाबन्दी खुकुलो पार्ने क्रममा अमेरिकाले त्यहाँ भ्रमण गर्ने आफ्ना नागरिकलाई दिएको पहिलो सहुलियतमध्ये एक थियो- केही खिली सिगार अमेरिका ल्याउन पाउने छुट। त्यो बेला क्युबा जाने प्रत्येक अमेरिकीले सय डलर बराबर सिगार ल्याउन छुट पाएका थिए। यो तीनवटा सिगार र सिगार तान्ने पाइपको मूल्य बराबर थियो।
क्युवाको सिगार इतिहास क्यास्ट्रोभन्दा धेरै पुरानो हो। र, क्यास्ट्रोभन्दा धेरै पछिसम्म रहिरहनेछ। सन् १४९२ मा कोलम्बस क्युबा पुग्दा नै त्यो भूमि सिगारका लागि प्रसिद्द थियो। कोलम्बसले क्युबाबाट फर्किएर युरोपलाई सिगार चिनाएको इतिहासमा उल्लेख छ। वाइनजस्तै सिगारको गुणस्तर पनि माटोगुना हुने गर्छ। जसरी दक्षिणी फ्रान्सको माटो वाइनका लागि विश्वप्रसिद्द छ, त्यसरी नै क्युबाको माटो सिगारका लागि अद्वितीय मानिन्छ।
क्रान्ति, उखु र चुरोट– सायद यी तीनथोक नै थिए, जसले त्यस दिनको बैठकमा कोइराला र क्यास्ट्रोलाई एकअर्काको नजिक ल्यायो। वा, क्यास्ट्रोकै भाषामा उनीहरूको सम्बन्ध ‘गुलियो’ बनायो। वा, दुई भिन्न परिवेशका क्रान्तिकारीबीचको न्यानोपनमा सिगारको जस्तो निखार थपियो।
‘त्यो दिन फिडेल क्यास्ट्रोजस्ता क्रान्तिका प्रेरक नेतासँगको भेटले गिरिजाबाबु निकै खुसी हुनुभएको थियो,’ शर्माले भने।
कोइरालाको यो खुसी यसबाट पनि बुझिन्छ, उनले त्यस दिन रात्रिभोजका क्रममा खिचेको सामूहिक तस्बिर आजीवन आफूसँगै राखे।
र, बढो महत्वका साथ कोठामा सिंगारे।
...
कोइराला र क्यास्ट्रोसहितका पाँच नेताको त्यो सामूहिक तस्बिर यतिबेला कहाँ छ त भनेर हामीले खोजी गर्यौं। कोइराला परिवारका एक सहयोगीले त्यो तस्बिर मन्डिखाटारस्थित गिरिजाप्रसादकी छोरी सुजाता कोइरालाको निवासमै रहेको बताए।
हामी यो लेखसँग त्यो तस्बिर पनि प्रकाशित गर्न चाहन्थ्यौं। तर, कोइराला अहिले उपचार निम्ति सिंगापुरमा छिन्। तैपनि हामीले तस्बिर खिच्न कोइराला निवासमा सम्पर्क गर्यौं। उनका सहयोगीले भने, ‘त्यो तस्बिर अरु कोठामा त छैन, बेडरुममा छ कि छैन, म यकिनका साथ भन्न सक्दिन। उहाँ (सुजाता कोइराला) देशबाहिर हुनुहुन्छ। बेडरुमको साँचो हामीसँग छैन।’
कोइराला र क्यास्ट्रोको त्यो ऐतिहासिक तस्बिर हामीले यो लेखसँग प्रकाशित गर्न पाएनौं।
त्यो तस्बिरलाई गिरिजाप्रसाद कोइरालाले जस्तै उनकी छोरीले पनि उत्तिकै माया र प्राथमिकतासाथ संगालेर राखेकी छिन् भन्ने विश्वास छ।
सायद, आफ्नो बेडरुमकै शोभा बढाउन।