त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको राजीनामा माग्दै उनको निवास अगाडि प्रदर्शन गर्न गएका ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ। कलंकीस्थित खनियाँको निवासमा प्रदर्शन गर्न पुगेका डा. गोविन्द केसी सोलिडारिटी अलायन्स तथा विवेकशील नेपाली दलका सदस्यहरुलाई प्रहरीले समातेको हो।
पक्राउ पर्नेमा पुकार बम, ऋशव दाहाल, उपेन्द्र अधिकारी, शशीविक्रम कार्कीलगायत केसीका समर्थक डाक्टरहरु छन्।
तेह्रौं दिनदेखि टिचिङ अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षामा सरकार उदासीन बनेको भन्दै उनीहरू दबाब दिन प्रदर्शनमा सहभागी भएका थिए। शिक्षामन्त्री धनिराम पौडेलको निवासअगाडि प्रदर्शन गरेर कलंकी पुगेका उनीहरूलाई प्ले कार्ड निकाल्दै गर्दा प्रहरीले धरपकड गरेको हो।
‘हामीले केही पनि गरेका थिएनौं, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न गएका मात्र थियौं,’ पक्राउ परेका विवेकशील नेपाल दलका मिलन पाण्डेले सेतोपाटीसँग भने, ‘प्ले कार्ड निकाल्दै गर्दा प्रहरीले जबरजस्ती समातेर गाडीमा हाल्यो।’
शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारीविपरीत प्रहरीले धरपकड गरेकाले पक्राउ गर्नुको कारण माग गरिएको पाण्डेले बताए।
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेको भन्दै डाक्टर केसीले खनियाँको बर्खास्त माग्दै सत्याग्रह थालेका थिए। केसीको जीवन संकटमा पर्दै गए पनि सरकारले संवादमार्फत माग पूरा गर्न तदारुकता देखाएको छैन।