सुदूरपश्चिममा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७३ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण सर्न सक्ने भएको छ ।
बिभागीय टीम लगायत ए श्रेणीका १२ वटा फुटबल टीम र भारतको दिल्ली, कलकत्ताका फुटवल टीम सहभागी हुने खप्तड गोल्डकपको तयारी पुरा भएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ।
पुस ३ गतेबाट हुने भनिएको गोल्डकप राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण पर सर्न सक्ने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उनले राष्ट्रिय प्रतियोगिता पुष ८ बाट शुरुहुने मिति आईसकेकोले मिति परिवर्तन भए निर्धारित समयमा नै गोल्डकप आयोजना हुन बताए।
सुदूरपश्चिममा पहिलो पटक हुन लागेको गोल्डकपको अधिकांश तयारी पुरा भइसकेको क्लवका बरिष्ठ उपाध्यक्ष वावुराजा श्रेष्ठले बताए। उनले नेपाल फुटवल संघले समेत प्रतियोगिता आयोजना गर्न अनुमति दिइसकेपछि ब्यापक तयारी शुरु गरिएको बताए ।
पहिलो पटक आयोजना हुन लागेको गोल्डकप सम्पन्न गर्न झण्डै ७० लाख खर्च हुने आयोजकले अनुमान गरेका छन्। अध्यक्ष हमालले पुरुस्कारमा मात्रै १५ लाख भन्दा बढी खर्च हुने जानकारी दिए । उनले गोल्डकप जित्ने टीमले ५ लाख, उपबिजेताले २ लाख ५१ हजार बिभिन्न बिधाका उत्कृष्ट खेलाडी प्रत्येकले नगद पुरस्कार पाउने हुनाले १५ लाख बढी पुरुस्कारमा खर्च हुने अनुमान गरिएको बताए ।
आयोजकले प्रतियोगितालाई सफल पार्न स्थानीय राजनीतिक दल, स्थानीय निकाय, बिभिन्न संघसंस्था तथा उद्योगी ब्यबसायीले गोल्डकप आयोजना गर्न सहयोग गर्न आग्रह गरेका छन ।