इङ्ल्यान्डविरूद्ध पहिलो टेस्टमा भारतीय कप्तान विराट कोहलीमाथि बल छेडछाड गरेको आरोप लागेको छ।राजकोटमा सम्पन्न पहिलो टेस्ट बराबरीमा समाप्त भएको थियो। बेलायती अखबार ‘डेली मेल’ का अनुसार कोहलीले पहिलो टेस्टमा बल छेडछाड गरेका थिए।
अखबारको अनलाइन संस्करणमा कोहलीले बल चम्काउदै गरेको एउटा भिडियो पनि जारी गरेको छ। जसमा दावी गरिएको छ, ‘कोहलीले दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिस जस्तै बलमाथि छेडछाड गरेका छन्।
आइसिसीले होबर्ट टेस्टमा बल छेडछाड गरेको आरोपमा डु प्लेसिसको पारिश्रमिकबाट सतप्रतिशत रकम कट्टा गर्ने निर्णय गरेको थियो। भिडियोमा कोहली आफ्नो मुखमा रहेको चुइगम बलमा टाँसेर रगड्दै गरेको देखिएका थिए।
अफ्रिकी कप्तान डु प्लेसिस पनि बल चम्काउन यही तरिका प्रयोग गर्थे। डु प्लेसिसलाई आइसिसीले धारा २.२.९ अन्तर्गत काराबाही गरिसकेको छ। तर, कोहलीको विषयमा आइसिसी अहिलेसम्म मौन छ।