अस्वस्थ्यताका कारण मालागाविरूद्धको खेलमा विश्राम लिएका अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी पुनः बार्सिलोनाको टिममा फर्किएका छन्। उनी बुधबार सेल्टिकविरूद्ध हुने च्याम्पियन्स लिगको खेलका लागि उपलब्ध हुने बताइएको छ।
यसका लागि मेसी सोमबार नै बार्सिलोनाको सियुटाट इस्पोर्टिभा सान्ट जोन डेस्पी अभ्याससत्रमा समावेश भएका थिए। जहाँ चर्चित गायक जस्टिन बिबर पनि मेसीसँगै अभ्यास सत्रमा देखा परे। युवाहरू माझ निकै लोकप्रिय क्यानेडियन गायकले केही समय ब्राजिलका स्टार स्ट्राइकर नेइमारसँग फुटबल खेलेर बिताए।
२२ वर्षीय बिबर यसै वर्ष अमेरिकामा आयोजना भएको कोपा अमेरिका कप खेल्न जाने क्रममा नेइमारको साथी बन्न पुगेका थिए। बिबरले आफ्नो देब्रे खुट्टाको ‘स्कील’ पनि देखाए। बार्सिलोना ‘रिर्टन’ खेलका लागि सेल्टिकसँग उसैको घरेलु मैदानमा खेल्नेछ। यस खेलका लागि लुइस सुआरेज पनि टिममा फर्किएका छन्। उनी मालागाविरूद्ध गोलरहित बराबरीमा टुँगिएको खेलमा प्रतिबन्धका कारण अनुपस्थित थिए।
बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘सी’ मा इङ्लिस क्लब म्यानचेस्टर सिटीभन्दा दुई अंकले अगाडि रहँदै शीर्षस्थानमा छ। बार्सिलोनालाई अन्तिम १६ मा स्थान बनाउन एक अंक मात्र आवश्यक छ।