दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ। मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखाएको हो।
जिल्लाका घर्तीगाउँ, तालावाङ, कोर्चवाङ, गैरीगाउँ, जौलिपोखरी, जेद्वाङ र करेटी गाविसमा गरिएको सर्वेक्षणले यस्तो अवस्था देखाएको हो।
सन् २०१४ मा उल्लेखित गाविसमा बालविवाहको दर ४८ प्रतिशत रहेकोमा सन् २०१६ मा घटेर ४६ प्रतिशतमा झरेको मानव अधिकार सचेतना केन्द्र, रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए।
ती गाविसमा सानै उमेरमा विवाह गर्ने तथा रोजगारीका लागि इँटाभट्टामा काठमाडौं जानेको सङ्ख्या अधिक रहेकाले तीनवर्षअघि बालविवाह र बालश्रम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।
गाविसस्तरमा सचेतनामूलक कार्यक्रम, घरदैलो भेटघाट, सार्वजनिक सुनुवाइ तथा वैकल्पिक शिक्षा एवम् जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गरिएका कारण सो दर घटेको हुरेक, रोल्पाका कार्यक्रम संयोजक कुमार पोख्रेलले जानकारी दिए।
बीचमा पढाइ छाडेका ३५१ जना बालबालिकालाई १०० दिनको वैकल्पिक कक्षामार्फत विद्यालय भर्ना गरिएको पोख्रेलले बताए। उल्लेखित गाविसमा ४५४ जना बालश्रमिक रहेकोमा १४३ जनालाई पुनःस्थापना गरिएको समेत उनले बताए । रासस