नियमन गर्ने निकायकै संरक्षणमा झापामा गाई तस्करी मौलाएको पाइएको छ। भारत निकासीका लागि लगिँदै गरिएका गाई प्रहरीले समाते पनि तिनै प्रहरीको दबाबमा गौसालामा पुर्याइएका गाई तस्करको पन्जामा पुनः परेका छन्।
स्थानीयका अनुसार तस्कर र प्रहरीबीच ‘सेटिङ’मा नेपालबाट गाई भारतका लागि निकासी हुने गरेका छन्।
पिकअप भेनमा क्षमताभन्दा बढी गाई लोड गरेर राजमार्गमा खुलेआम तस्करले लैजाँदा पनि प्रहरी टुलुटुलु हेरिरहेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख शैलेश थापा क्षेत्रीले त ऐनको ख्यालै नगरी झापाका दुई नाकाबाट गाई निकासी गर्न पाइने तर्क गरे।
नेपालबाट गाई भारत निकासी गर्दा बहर वा गोरुका फर्जी कागजात बनाएर निकासी गर्ने गरिएको छ। राजमार्गमा ड्युटीमा रहेका प्रहरीले पिकअप भेनमा सागपात खाँदेजस्तो गरेर राखेका गाई हुन् कि गोरु हुन् छुट्याउने गर्दैनन्।
ट्राफिक प्रहरिले भेट्यो भने ओभरलोड भन्दै जरिवाना गराएर छाड्ने गरेको छ। राजमार्गबाटै खुलेआम लगिएका गाई बिना अवरोध भारतीय बजारमा पुर्याइने गरिएको छ। गाईबाहेक अन्य चौपाया निकासीका लागि सरकारले झापाका तीन वटा नाकालाई अख्तियारी दिएको छ।
काँकडभिट्टाको नकलबन्दा, भद्रपुर र गौरीगन्जबाट मात्र गाईबाहेक पशु निकासी गर्न पाइन्छ। तर, तीनै नाकाबाट पनि प्रशासनलाई ठाडो चुनौती दिँदै दिनहुँ सयौंको संख्यामा गाई निकासी हुने गरेको पाइएको छ।
ठूला पशु बजारका रूपमा दरिएका जिल्लाका दमक, धुलाबारी र घैलाडुब्बाबाट गाई खरिद गरेर व्यापारीले भारत निकासी गर्ने गरेको छन्। पशु क्वारेन्टाईन कार्यालय काँकडभिट्टाका अनुसार गाई निकासी अवैध हो।
जिल्लाका कतिपय सहायक नाकाबाट ट्रकमै लोड गरेर गाई निकासी गरिन्छ भने त्यतिकै संख्याका गाईलाई हिँडाएरै भारत निकासी गरिन्छ। यी नाकामा प्रशासनले अनुगमन गरेको छैन। झापामा गाईको अवैध व्यापार फस्टाएको गौसंरक्षण मन्चका केन्द्रीय सदस्य भीम भट्टराईले बताए। उनले भने, ‘यहाँबाट अवैध रुपमा निकासी गरिएका यी गाई भारतीय बजारमा लगेर मासुका रुपमा बिक्री गरिन्छ अनि दिल्ली, मुम्बई, आसाम, दार्जीलिङ, गान्तोक, सिलिगुढी लगायत बजारमा पुर्याइन्छ।
व्यापारीले दमकमा खरिद गरेका गाई पूर्व–पश्चिम राजमार्ग हुँदै झिलझिलेबाट शिवगञ्ज, कुन्जीबारी र माहाभारा हुँदै डिगलबैंक निकासी गर्ने गरेका छन्। राजमार्गका इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी केर्खा, झिलझिले र सहायक मार्गमा रहेका शिवगञ्ज, प्रहरी चौकी कुन्जीबारी र प्रहरी चौकी माहाभारा रमिते बन्ने गरेका छन्।
राजमार्गबाट रातिभन्दा दिउँसो गाई निकासी बढी हुने गरेको शिवसताक्षी नगरका मदन शिवाकोटीले बताए। उनले भने, ‘गाईको अवैध धन्दा निमिट्यान्न हुन प्रहरीकै कारण सकेको छैन।’ शिवाकोटीका अनुसार भारतीय व्यापारी र नेपालका तस्करबीच प्रहरी विचौलिया बन्ने गरेको छ। तर, प्रहरीले यस्को खण्डन गर्दै भनेको छ, ‘प्रहरी र तस्करको यस मामलामा कुनै सम्झौता हुन सक्दैन।’
इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएका ८ वटा गाई सताक्षीधामको गौशालामा लगिएका थिए। गौशालामा प्रहरी आफैंले पुर्याएको गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष नन्दकिशोर भारध्वजले बताए।
गएको मंसिर १ गते राति प्रहरी नियन्त्रमा परेका ती गाई प्रहरीकै दबाबमा तस्करका हातमा परेका छन्। जिल्ला प्रहरी कार्यलय झापाका एसपी शैलेश थापा क्षेत्रीले भने ती गाई सुरक्षाका लागि मात्र गौशालामा दिइएको बताए। ‘व्यापारीले कागजात पुर्याएपछि फिर्ता भएका हुन्,’ उनले भने। गौशालाबाट फिर्ता लगिएका ८ वटा गाई भारतीय बजारमा मासुकै लागि लगिएको स्वयं खरिदकर्ता मंगल तामाङले बताए।