संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधनका लागि चार बुँदे प्रस्ताव तयार भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अनावश्यक हल्ला चलाएको आरोप लगाएका छन्।
शनिबार रिपोटर्स क्लवले गरेको कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँग छलफल नै नगरी चार बुँदे संसोधन प्रस्ताव तयार भएको भन्दै मिडियाबाजी गरेको टिप्पणी गरे। उनले आन्दोलनरत पक्षले उठएका माग सम्बोधन गर्न उनीहरुसँग सहमति नगरी संसोधनको प्रस्ताव मात्र दर्ता गराएर समस्याको समाधान नहुने दावी गरे। अध्यक्ष यादवले सात प्रदेशले मुलुकका समस्या समाधान गर्न नसक्ने भएकाले राज्य पुनसंरचना आयोगले दिएको प्रतिवेदन अनुसार केन्द्र र प्रदेशमा स्रोत साधनको बाँडफाँड गर्नेगरी पुनसंरचना हुनुपर्ने बताए।
साक्षात्कारमा यादवले वर्तमान सरकार गठन हुनुअघि संविधान संसोधन गरेर मधेसी जनजाती, आदिबासी लगायत सिमान्तकृत समुदायका मुद्धा सम्बोधन गर्ने र निर्वाचन गराएर मुलुकलाई अर्थिक समृद्धितर्फ लैजाने सहमति भएको बताए। उनले सरकार गठन हुनुअघि कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चासँग गरेको सहमति विपरीत संविधान संसोधन प्रस्ताव दर्ता मात्र गराउने खेल भइरहेको टिप्पणी गरे।
अध्यक्ष यादवले प्रमुख तीन दलले संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएलगत्तै समस्याको समाधान हुने भन्दै गलत प्रचार गरेको आरोप लगाए। उनले मधेसी जनजाती र सिमान्तकृत समुदायका माग प्याकेजमै सम्बोधन गर्न माग गरे। प्रमुख दलले मधेसी आदिवासी जनजाति र सिमान्तकृत समुदायबीच फाटो ल्याउने षडयन्त्र गरेको अध्यक्ष यादवको आरोप थियो।