यो हप्ता हामी संसारभरि एन्टिबायोटिक्स सप्ताह मनाउँदैछौं। नोभेम्बर १४ देखि २० तारिखसम्म मनाइने यो सप्ताह एन्टिबायोटिक्स प्रेस्क्राइब गर्ने डाक्टर र उपभोग गर्ने बिरामीको मात्र सरोकारको विषय होइन। किनकि एन्टिबायोटिक्स डाक्टर र बिरामीमा मात्र सीमित छैन। यो सबैको सरोकारको विषय हो।
अमेरिकामा मात्र प्रत्येक वर्ष कम्तीमा २० लाख मानिसमा प्रचलित एन्टिबायोटिक्सले काम नगर्ने किटाणुको संक्रमण हुने गर्छ। त्यसमध्ये २३ हजारभन्दा बढीको त्यही संक्रमणकै कारण मृत्यु हुन्छ। विभिन्न कारणले बिरामीको संक्रमणकालमा एन्टिबायोटिक्सले काम नगर्दा प्रत्यक्ष मृत्यु हुनेको संख्या त झन् धेरै छ। नेपालमा एन्टिबायोटिक्स सिफारिस गर्न तथा किन्नका लागि कुनै रोकटोक नभएका कारण हामीसँग कुनै विश्वसनीय आँकडा छैन। तर, समस्याको आयतन निकै ठूलो भएको अनुमान चाहिँ गर्न सकिन्छ।
एन्टिबायोटिक्स त्यस्तो औषधी हो जुन ब्याक्टेरिया जातको किटाणुले गर्ने संक्रमणविरुद्ध लड्छ। यसले शरीरमा प्रवेश गरेका ती ब्याक्टेरियालाई मार्ने वा बृृद्धि हुन नदिने काम गर्छ जसले गर्दा संक्रमण निको हुन्छ। त्यसैले एन्टिबायोटिक्स गम्भीर प्रकारका संक्रमणबाट प्राण बचाउने अचुक औषधी हो। र, आवश्यक परेका बेला एन्टिबायोटिक्स प्रयोग गर्ने पर्ने हुन्छ।
निमोनिया, पिसाबको संक्रमण, कानको संक्रमण, टन्सिल पाक्ने वा घाउ पाक्ने लगायत मेनिन्जाइटिस, सेप्सिस जस्ता गम्भीर संक्रमण धेरैजसो ब्याक्टेरियाले नै गराउने हुँदा एन्टिबायोटिक्सले काम गर्छ। तर भाइरसले गर्ने संक्रमणमा एन्टिबायोटिक्सले कुनै काम गर्दैन। घाँटी दुख्ने, खोकी लाग्ने, सिँगान बग्ने, कान दुख्ने, पखाला लाग्ने, ज्वारोसँगै डाबर आउने जस्ता बच्चामा देखिने धेरै समस्या भाइरसले गराउने हुन्छ।
तपाईंका बच्चालाई भाइरल संक्रमण भएको बेलामा एन्टिबायोटिक्स खाएर ठीक भएको तपाईँले ठान्नु भएको होला। तर, साँचो कुरा के हो भने रोग एन्टिबायोटिक्सले भाइरस मारेका कारणले भएको होइन, रोग आफैं निको भएको हो। धेरैजसो भाइरल संक्रमण शरीरको प्रतिरक्षा प्रणालीले आफंै नियन्त्रण गर्छ। कुनैकुनै भाइरसविरुद्ध काम गर्ने भाइरल विरोधी औषधी पनि हुन्छन्।
हरेक अभिभावकले बुझ्नुपर्छ कि हरेक रोगका लागि एन्टिबायोटिक्स उपयुक्त औषधी हैन र एन्टिबायोटिक्स प्रयोग गर्दा फाइदा हुँदैन। बरु हानी हुन सक्छ। आवश्यक नपरिकन एन्टिबायोटिक्स प्रयोग गरेर विभिन्न साइडइफेक्ट आउँदा पक्कै पनि राम्रो लाग्दैन। धेरैथरि एन्टिबायोटिक्सले मतमत लाग्ने, उल्टी हुने, पखाला लाग्ने, चिलाउने डाबर आउने जस्ता असर देखाउँछन्। कुनै एन्टिबायोटिक्सले त गम्भीर खालको एलर्जी गराउँछ जसले गर्दा शरीरभरि डाबर आउने, ओठ र जीभ्रो सुन्निने, सास फेर्न गाह्रो हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छन्।
एन्टिबायोटिक्स सबैभन्दा बढी सिफारिस गरिने औषधीमा पर्छ। लगभग ५० प्रतिशत जति एन्टिबायोटिक्सको प्रयोग अनावश्यक वा अनुपयुक्त भएको अनुमान गरिन्छ। कुनै एन्टिबायोटिक्स पशुलाई खुवाउने खानामा पनि राखिएको हुन्छ जुन अनुपयुक्त प्रयोग मानिन्छ। अर्को समस्या भनेको एन्टिबायोटिक्सको प्रयोगले उक्त औषधीको प्रभावकारितालाई नै निस्तेज गर्दै लैजान्छ।
जब सामान्यतः प्रयोग गरिने कुनै एन्टिबायोटिक्सले संक्रामक ब्याक्टेरियालाई मार्न सक्दैन त्यो गम्भीर कुरा हो। यसले उपचारमा ठूलो चुनौती थपिदिन्छ। एन्टिबायोटिक्सले काम गर्न छाड्नुको कारण ब्याक्टेरियाले एन्टिबायोटिक्सविरुद्ध आफूलाई सशक्तिकरण गर्दै जानु हो। त्यसपछि एन्टिबायोटिक्सले उक्त ब्याक्टेरियालाई मार्न सक्दैन। यसले गर्दा त्यस्तो संक्रमणविरुद्ध अरु नै धेरैथरि औषधी वा सूईबाट दिने कडा किसिमको एन्टिबायोटिक्स चलाउनु पर्छ।
अहिले संसारमा ब्याक्टेरियाले जुन गतिमा आफूलाई परिवर्तन गरिरहेको छ, त्यो गतिमा हामीले नयाँ एन्टिबायोटिक्स विकास गर्न सकिरहेका छैनौं। फेरि त्यस्ता एन्टिबायोटिक्सले मार्न नसक्ने किटाणु अस्पतालमा मात्र सीमित नभएर समुदायमा फैलने क्रम पनि बढ्दो छ। सबैभन्दा ठूलो डर के हो भने कतिपय ब्याक्टेरियालाई उपलब्ध कुनैपनि एन्टिबायोटिक्सले छुन छाडेको छ र बिरामीको उपचार गर्दागर्दै ज्यान पनि जान सक्छ।
स्वास्थ्यकर्मीले एन्टिबायोटिक्स सिफारिस गर्दा धेरै सोच्नु पर्ने बेला आएको छ। सकेसम्म ठोस आधार भएर मात्र संक्रमणको प्रकृति हेरी उपयुक्त खालको एन्टिबायोटिक्स चलाउनु र सिफारिस गरिसकेपछि पुरा मात्रा नछुटाइकन खान लगाउनु आवश्यक छ, धेरै महत्वपूर्ण छ। एन्टिबायोटिक्स जस्तो औषधी बिरामीले आफू खुसी किनेर खान सक्ने अवस्था रहनु निकै संवेदनशील कुरा हो।
हेर्दा उस्तै लाग्ने समस्या भए पनि अरु कसैलाई गरिएको वा आफंैलाई पहिला गरिएको सिफारिस हेरेर त्यही एन्टिबायोटिक्स आफू खुसी कहिल्यै खानु वा खुवाउँनु हुँदैन। ज्वरो आउने, घाँटी दुख्ने वा खोकी लाग्नेबित्तिकै एन्टिबायोटिक्स खाई हाल्ने गर्दा कुन किटाणुको संक्रमण हो भनेर जाँच गर्न र रोगको सही निदान गर्न गाह्रो हुन्छ। मेरो बच्चालाई त जे भए पनि एन्टिबायोटिक्स खाएपछि मात्र ठीक हुन्छ भन्दै स्वास्थ्यकर्मीलाई सिफारिस गर्न दबाब दिनु हितकर हुँदैन। योग्य स्वास्थ्यकर्मीले कुन एन्टिबायोटिक्स कसरी र कहिलेसम्म प्रयोग गर्नुपर्छ भन्ने निर्धारण गर्छन् र त्यसको पालना गर्न जरुरी छ।
गम्भीर संक्रमणबाट ज्यान बचाउन एन्टिबायोटिक्सलाई चाहिएको बेला काम गर्ने गरी बचाइराख्नु आजको ठूलो चुनौती हो र यसको सामना मिलेर गर्नुपर्छ। समुदाय, स्वास्थ्य संस्था वा पशुपालन लगाएत एन्टिबायोटिक्स प्रयोग हुने जुनसुकै ठाउँमा सरकारी, गैरसरकारी वा नाफामूलक निजी साझेदारहरूसँग मिलेर यसको सही तरिकाले प्रयोग गर्ने परिपाटी बसाउनु एन्टिबायोटिक्स सप्ताहको पहिलो कार्यदिशा हो। यसको लागि उपयुक्त तरिकाले एन्टिबायोटिक्सको प्रयोग गर्नुको फाइदा र जथाभावी प्रयोग गर्दा उत्पन्न हुने भयावह समस्याबारे जनस्तरमा सचेतना जगाउन जरुरी भैसकेको छ।